विद्यालयका समितिलाई श्रोतवाँडफाँड सम्बन्धी तालिम
- सोमबार मङ्सिर १९ , २०७९
चुरेकुञ्ज, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नं.–८ सानोश्रीमा विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि श्रोत बाँडफाँड तथा निति कार्यान्वयन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सोमबार सम्पन्न भएको छ । मधुवन नगरपालिकाको समन्वय, प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) को साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो ।
मधुवन नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख नारायण प्रसाद खनालले तालिमको सहजीकरण गर्नुभएको छ । बर्दिया जिल्लाको मधुवन, बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँ पालिकाका ४३ वटा माध्यमिक तथा आधारभुत विद्यालयहरुमा बाल विवाह न्यूनीकरण परियोजना सन्चालन गरिएको छ । मधुवन नगरपालिकाका १४ वटा माध्यमिक र आधारभुत विद्यालय मध्ये ११ वटा विद्यालयहरुमा कार्यक्रम संचालन भएका हुन् ।
विद्यालयहरुमा छात्राहरुको निरंतरताका लागी सहकार्य, किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ज्ञान प्रदान गर्ने, युवा विशेष गरि किशोरी तथा महिलाहरूलाई आर्थिक रूपमा सशक्तीकरण गर्नका लागि सहयोग तथा सहकार्य, परम्परागत हानीकारक अभ्यासहरुबाट समाजमा भएका विभेदकारी मुल्य मान्यताहरुलाई परिवर्तन गर्न सहकार्य, बाल संरक्षण तथा युवा सहभागिता सम्बन्धि नितिगत ब्यवस्था सुदृढ तथा बाल विवाह, छिटो विवाह, र दवावमा हुने विवाहलाई न्यूनीकरण गर्न समन्वय तथा सहजीकरण गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।
