बिस्वास दिलाउँदै राजापुरको दिदिबहिनी सानाकिसान सहकारी
- आइतबार मङ्सिर १८ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा रहेको दिदी बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने मूल प्रतिवद्धताका साथ साना किसानलाई आर्थिक रुपले सबल बनाउन स्थापना भएको यस संस्थाले आफ्नो ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाको कुल पूँजि १६ करोड ३९ लाख ६९ हजार र आम्दानी २ करोड ४ लाख ५१ हजार तथा खर्च १ करोड ५० खाल ७९ हजार प्रस्तुत गरिएको छ । संस्थाले गत आ व २०७८÷०७९ मा ८३ लाख ७९ हजार कुल मुनाफा गरेको छ । यस क्षेत्रमा वाली विमा, पशु विमा, कृषि कार्यका लागि युवाहरुलाई इजरायल पठाउने लगायत चिउरा भूजा उद्योगको स्थापना सहकारीले गरेको छ । ११ औँ वार्षिक साधारण सभालाई सम्बोधनगर्दै राजापुर नगरपालिका उपप्रमुख तथा प्रमुख अथिति मनकला कुमारी चौधरीले स्पष्ट योजनाका साथ आएमा कुनै पनि सहकारीको विकासका लागि नगरपालिका सकारात्मक रहेको बताउनु भएको छ । चिउरा भुजा उद्योेगका लागि विद्युत ट्रान्फर्मर उपलब्ध गराउन पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष सावित्री पुरी, क्याम्पस प्रमुख अनिलदत्त चौधरी लगायतका सहकारी संस्थालाई प्रगति गराउन योगदान दिने व्यक्तित्वहरुको उच्च मूल्याङ्कनगर्दै कदर तथा सम्मान पत्र प्रदान गरिएको थियो । साधारण सभामा जिल्ला सहकारी संस्थाका सचिव डम्मर केसी, पूर्व अध्यक्ष पुरी, वडाध्यक्ष विदुर पोख्रेल, राजेश थारु लगायतका जनप्रतिनिधि, विभिन्न उपसमितिका संयोजकहरु सहाभगी थिए ।
स्वागत मन्तव्य मिता थापाले गर्नु भएको साधारण सभामा मीन श्रेष्ठले आर्थिक प्रतिवेदन तथा संस्थाकी प्रबन्धक मीना चौधरीले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका अध्यक्ष सिता कुमारी भण्डारी अर्यालले राजापुरमा दिदी बहिनी सहकारीले स्थानीय जनता माझ विश्वास प्राप्त गरेकोले संस्थाको कामले नै सदस्यहरुको संख्या बढेको बताउँदै आगामी दिनमा अझै प्रभावकारी रुपले अगाडि बढ्ने भन्दै सभाको समापन गर्नु भएको थियो ।