गेरुवा गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मेला
- शनिबार मङ्सिर १७ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको गेरुवा गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मेला सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ६ मा रहेको श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय नाउँ ६ प्रसेनीमा भव्य कार्यक्रमका साथ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मेला गरिएको छ ।
यौनजन्य समस्यालाई खुलेर राख्न सक्ने बनाउने उद्देश्यका साथ विद्यालयमा कार्यक्रम गरिएको गेरुवा ग्रामिण जागरण संघ नेपालका सदस्य तथा कार्यक्रमका फोकल पर्सन उर्मिला ताम्राकारले वताउनु भयो । स्वागत मन्तब्यराख्दै कार्यक्रम संयोजक रामरुप कौशलले यौन तथा प्रजनन स्वास्थ्यमा खुलेर राख्न सक्ने वनाउनु र समस्या कम गराउनु सबैको कर्तव्य भएको धारणा राख्नु भएको थियो । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना मूलक सामग्री सहितका स्टल विज्ञान प्रयोगशालाका स्टल मेलामा राखिएको थियो ।
चित्रकला, बक्तृृत्वकलामा सहभागी भएर विजेता वनेका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमलाई सम्बोधनगर्दै गेरुवा गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जमानसिह केसीले सानो उमेरमा विवाह गर्ने तथा आफ्ना प्रजनन स्वास्थ्य समस्या भन्न नसक्दा भित्रभित्रै समस्या विकराल बन्दै गएकाले विद्यालयमा स्वास्थ्यकर्मी नर्स राखेर विद्यालयबाटै समस्या समाधानमा लाग्न आवश्यक सहयोग पालिकाले गर्ने प्रतिवद्धता गर्नुभएको छ ।
विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने संघसंस्थाहरुको उच्च प्रशंसा गर्दै धन्यवाद दिनु भएको छ । प्लान इन्टरनेसनल नेपाल, गेरुवा ग्रामीण जागरण संघ र कोइका नेपालको आर्थिक सहयोग गेरुवा गाउँपालिकाको समन्वयमा श्री नेपाल राष्ट्रिय गणेश मावि मनाउँ ६ प्रसेनीले आयोजना गरेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, विभिन्न वडाका जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी, स्वयमसेविकाहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।