fbpx

राजापुरको प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक बिहिन

राजापुरको प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक बिहिन


मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका डाक्टर आलोक झा अध्ययनका लागिभन्दै बिदा लिएपछि राजापुरको एकमात्र स्वास्थ्य केन्द्र चिकित्सक विहिन भएको छ ।

अस्पतालको हकहितका लागि छलफलमा बस्न चाहेपनि स्थानीय सरकारले वेवास्ता गरेको र केहीदिन अघि कर्मचारी बिच भएको मनमुटावका कारणले गर्दा आफु पदमा बसि रहन उचित नठानेर स्वास्थ्य केन्द्र छाडेको डा. झाको भनाई छ । राजनितीक पहुँचका आधारमा जागिर खाएका कर्मचारीले कार्यालय प्रमुख माथि हैकम जमाउन खोज्ने प्रबृत्ति मौलाएको छ । उहाँले भन्नुभयो अन्य स्वास्थ्य संस्थाका कर्मचारीलाई जनप्रतिनिधिहरुकै संरक्षण भएकाले कार्य सञ्चालनमा बाधा पुग्यो ।

आन्तरिक व्यवस्थापन र कर्मचारी बिचको मनमुटाव कै कारण डाक्टरले विदा लिएपछि राजापुरका सेवाग्राहीहरु मारमा परेका छन् । सेवा प्रदायक स्वास्थ्य केन्द्रमा भएको लापरबाहीले उपचारमा असहज भएकोभन्दै सामाजिक सञ्जालहरुमा प्रतिकृया समेत आउन थालेका छन् । डाक्टर नभए पछि राजापुरका स्थानीय उपचारका लागि टिकापुर, नेपालगञ्ज, गुलरिया पुग्नु पर्ने बाध्यता छ । प्राथमिक स्वास्थ्य केन्द्रमा केही दिन देखि डाक्टर अध्ययन विदामा गएको र करारको कर्मचारी मात्र भएकाले लामो समयसम्म विदा दिन नमिल्ने देखिए पछि डाक्टर गएको वडाध्यक्ष विदुर पोख्रेलले वताउनु भयो ।

नगरपालिकामा अबको बैठकमा डाक्टरका बारेमा छलफल गरी तत्कालै डाक्टर ल्याउन पहल गर्ने उहाँको भनाई छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको मुख्य स्वास्थ्य केन्द्रका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्थापन गर्न नसकेको स्थानियले गुनासो गरेका छन् । डा. झा हुँदा केन्द्रले राजापुरमै अक्सिजन सेवा, भिडियो एक्सरे, ल्यावका जाँच सुविधा, सर्पदंस उपचार सेवा, सामान्य अप्रेशन, प्लाष्टर, विरामी भर्ना, पोष्टमाटम लगायतका सेवा प्रदानगर्दै आएको थियो । हाल डाक्टर विहिन हुँदा स्थानियहरु सेवा पाउनबाट बञ्चित छन् ।

तपाइको मत