खाद्य संस्थान राजापुरले धान नकिन्दा किसानलाई समस्या
- सोमबार मङ्सिर १२ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था व्यापार कम्पनीको मुख्य शाखाले धान खरिद गर्न नसकेपछि किसानहरु समस्यामा परेका छन् । धान उत्पादनको दृष्टिले निकै महत्वपूर्ण रहेको भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानले उत्पादन गरेको धान धमाधम विक्रि हुने अवस्थामा रहेपनि खाद्यले खरिदका लागि काँटा लगाउन सकेको छैन ।
हिउँदे बाली छर्न मलखाद र विउको जोहोगर्न हतारिएका किसानले सस्तो मूल्यमै स्थानीय व्यापारिहरुलाई धान वेच्न बाध्य छन् । राजापुर नगरपालिका वडा नं. ७ का किसान कालुराम थारुले भन्नुभयो, किसानहरुले सस्तोमा धान बेचिसके अब खाद्यले धान खरिद गरेपनि नगरेपनि केही मतलव छैन । स्थानिय किसान सुरेन्द्र थारुले संस्थान सधंैका लागि बन्द भए पनि आशा मरिसकेको बताउँदै उहाँले भन्नुभयो खाद्यले व्यापारीसँग कमिसन खाएर धान खरिद नगरेको पो होकी । स्थानीय होस कि प्रतिनिधि वा प्रदेशको चुनावका बेला मात्रै नेतालाई जनता चाहिने उनिहरुको समस्या बुझ्न पट्टि सबैले बास्ता नगरेको उहाँको भनाई छ ।
२ क्विन्टल धान बेच्दा १ क्विन्टल मल किन्न नसकिने मूल्यमा धान बेच्न बाध्य छौं । किसानको अवस्थालाई संबोधन गर्न नसकेको भन्दै किसानहरु स्थानीय सरकारसँग समेत रुष्ट बनेका छन् । सस्तोमा धान बेचेका किसानलाई रासायनिक मल पाउन पनि निकै सास्ती खेप्नु परेको छ । गत कात्तिक १६ गते मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९–८० का लागि धानको समर्थन मूल्य तोकेको थियो । मोटा धानको मूल्य प्रति क्विन्टल २ हजार ९ सय ६७ रुपैया तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा २ सय १५ रुपैया बढी हो ।