बर्दियामा संजय गौतमको तेस्रो बाजी, लालविर चौधरी पहिलो
- आइतबार मङ्सिर ११ , २०७९
चुरेकुञ्ज, गुलरिया । प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका संजयकुमार गौतम निर्वाचित भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गौतमले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन् ।
बर्दियामै जन्मिएका उनी ०६४ सालको निर्वाचनमा हार ब्यहोरका गौतमले यससँगै तेस्रो पटकको निर्वाचनमा बाजी मारेका छन् । संविधान सभाको पहिलो निर्वाचनमा बर्दियाबाट निर्वाचित गौतमले ०७४ को निर्वाचनमा वाम गठबन्धनका प्रभावशाली नेकपा एमालेका नेता वामदेव गौतमलाई पराजित गरेका थिए ।
विक्रम सम्बत २०२० साल वैशाख १३ गते जन्मिएका गौतम तेस्रो पटक निर्वाचित भई लोकप्रियता उजागर गरेका छन् । निर्वाचित भए लगत्तै गौतमले मिडिया मार्फत बर्दियाको बिकासलाई नयाँ मोडलबाट अघि बढाउने प्रतिवद्धता गरे । जब्दीघाटको पुल, मूर्तिहा भन्सार नाका, सुर्खेत तेलपानी सडक, कृषिका लागि सिंचाई, मल र युवाहरुको लागि उद्योगधन्दा लगायतका स्वरोजगारमूलक योजनाहरु ल्याउने प्रतिवद्धतागर्दै उनले भने दल र नेताहरु प्रति रहेको जन वितृष्णालाई उर्जामा बदल्ने गरी हाम्रो बर्दिया राम्रो बर्दिया बनाउने लक्ष्य सहित अघि बढ्ने विस्वास दिलाएका छन् ।
गुलरिया नगरपालिका वडा नम्वर ५ स्थित मतंगा टोलमा स्थायी घर भएका गौतमले स्नातक गरेका छन् । ०७४ मा निर्वाचित भैसकेपछि उनी सिंचाई मन्त्री समेत बनेका थिए । तत्कालिन समयमा बर्दियामा बबई भादा औरही नदी नियन्त्रण आयोजनाको कार्यालय स्थापना गरी गौतमले नदी नियन्त्रण तथा तटबन्धनको काम अघि बढाएका हुन् । पार्टीबाट टिकट पाउने बेला एउटै पार्टीबाट दुई जनाको उम्मेदवारी विवादमा परेका गौतम निर्वाचन अधिकृतको कार्यालयबाट मान्यता पाएपछि निर्वाचनमा सहभागी भएका हुन् ।
प्रतिनिधिसभा २ मा लालविर
प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर २ बर्दियामा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । उनले वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई १ सय ३६ मतान्तरस्वतन्त्र उम्मेदवार चौधरी चापाकल (धारा) चुनाव चिन्ह् लिएर निर्वाचन लडेका थिए । नागरिक उन्मुक्ती पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी रद्द भएपछि रेशमका सहोदर पिता लालवीर चौधरीलाई नागरिक उन्मुक्ती पार्टीले समर्थन गरेको थियो ।
प्रतिनिधि सभा क्षेत्र नम्वर २ बर्दियामा गठबन्धनको बलियो पकड भएतापनि गठबन्धनलाई चुनौतीदिँदै चौधरीले जित हाँसिल गरेका छन् । विक्रम सम्बत २०११ साल माघ २२ गते कैलालीमा जन्मिएका चौधरीको स्थायी ठेगाना कैलाली जिल्लाको टिकापुर नगरपालिका ब्लक नम्वर २९ मा पर्छ । वावु हस्तराम चौधरीका सुपुत्र लालवीरले किसान माध्यमिक विद्यालय जयपुर बर्दियाबाट एसएलसी गरेका हुन् ।
चौधरी विक्रम सम्वत २०३२ सालदेखि ०४७ साल सम्म कुलेरिया रानीजमरा कुलोके सचिव र ०४७ देखि ०७९ साल सम्म अध्यक्ष पदमा जिम्मेवारी वहन गरी अनुभव वटुलेका छन् । थारु समुदायको अधिकांस वसोवास रहेको उक्त क्षेत्रमा चौधरीको विजयले समुदाय तथा क्षेत्रको समृद्धिमा महत्वपूर्ण भुमिका रहने अपेक्षा गरिएको छ ।
बिजेताको मतपरिणाम
बर्दियामा प्रतिनिधि तथा प्रदेस सभा सदस्य निर्वाचन प्रत्यक्ष तर्फको मतगणना कार्य सकिएको छ । प्रतिनिधि सभा तर्फ १/१ सीट काँग्रेस र स्वतन्त्र तथा प्रदेस सभातर्फ काँग्रेस र नागरिक उन्मुक्ती पार्टीले २/२ सीट जितेका छन् । नेकपा एमाले र सत्ता गठबन्धन तर्फको बलियो दल नेकपा माओवादी केन्द्रले बर्दियामा कुनै सीट प्राप्त गर्न सकेनन् ।
नेकपा एमालेको बलियो पकड मानिने बर्दिया क्षेत्र नम्वर १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य संजयकुमार गौतम निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजितगर्दै गौतम विजयी भए । गौतमले ३० हजार ६११ मत र ज्ञवालीले २६ हजार १५५ मत प्राप्त गरेका छन् । बारबर्दिया नगरपालिकाको मत गणनाबाट अग्रस्थानमा रहेका नागरिक उन्मुक्ती पार्टीका ठाकुर सिंह थारुलाई बाँसगढी नगरपालिकाको मत गणनापछि काँग्रेसका गौतमले पछि पारेका थिए । थारुले २३ हजार ९९३ मत प्राप्त गरेका छन् ।
प्रदेससभा सदस्य तर्फ बर्दिया क्षेत्र नम्वर १ (१) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका भुवनेश्वर चौधरी निर्वाचित भएका छन् । चौधरीले नेकपा एमालेका शालीकराम अधिकारीलार्य १ सय १९ मतले पराजित गरे । चौधरीले १७ हजार २६ र अधिकारीले १६ हजार ९०७ मत प्राप्त गरेका छन् । त्यस्तै नागरिक उन्मुक्ती पार्टीका खेमबहादुर थारुले ११ हजार ९०१ मत प्राप्त गरेका छन् ।
प्रदेस सभा सदस्य बर्दिया क्षेत्र नम्वर १ (२) मा नागरिक उन्मुक्ती पार्टीका राजकुमार चौधरी विजयी भएका छन् । नेकपा एमालेका भक्तबहादुर विश्वकर्मालाई पराजितगर्दै चौधरी निर्वाचित भएका हुन् । चौधरीले १३ हजार २३० मत प्राप्त गर्दा विश्वकर्माले १२ हजार १८३ मत प्राप्त गरेका छन् । दुवैको मतान्तर १ हजार ४७ छ । वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी अञ्जु दहितले ११ हजार ४९० मत प्राप्त गरेकी छिन् । सत्ता गठबन्धन दलको बलियो पकड क्षेत्रमा नागरिक उन्मुक्ती पार्टीले जितेको छ ।
नेकपा माओवादी केन्द्रको पकड क्षेत्र मानिने प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नम्वर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । उनले वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई १ सय ३६ मतान्तरले पराजीत गरेका छन् । चौधरीले २६ हजार ५२० मत र पन्थले २६ हजार ३८४ मत प्राप्त गरे । नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत र राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार चौधरी चापाकल (धारा) चुनाव चिन्ह् लिएर निर्वाचन लडेका थिए । नागरिक उन्मुक्ती पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी रद्द भएपछि रेशमका सहोदर पिता लालवीर चौधरीलाई नागरिक उन्मुक्ती पार्टीले समर्थन गरेको थियो ।
प्रदेस सभा सदस्य बर्दिया क्षेत्र नम्वर २ (१) मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका जन्मजय तिमिल्सिना निर्वाचित भएका छन् । नागरिक उन्मुक्ती पार्टीका प्रदेशी चौधरीलाई ५ हजार ६७ मतले पराजितगर्दै तिमिल्सिना विजयी भएका हुन् । तिमिल्सिनाले १७ हजार २५१ र चौधरीले १२ हजार १८४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका लहनु थारु १० हजार ६४३ र राप्रपाका कन्हैयालाल थारु ५ हजार ३२४ मतमा समेटिएका छन् ।
प्रदेस सभा सदस्य बर्दिया क्षेत्र नम्वर २ (२) मा नागरिक उन्मुक्ती पार्टीका धर्म बहादुर चौधरी विजयी भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का मानबहादुर थारुलाई ९ हजार १४३ मतान्तरले पछिपार्दै चौधरी विजयी भएका हुन् । विजयी चौधरीले २० हजार १२७ मत र निकटतम प्रतिद्वन्दी थारुले १० हजार ९८४ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी कृष्णी थारुले ७ हजार १७ मत प्राप्त गरेकी छिन् । नेकपा माओवादी केन्द्रको बलियो पकड मानिने क्षेत्रमा नागरिक उन्मुक्ती पार्टीले जित हासिल गरेको छ ।