बर्दिया क्षेत्र नम्वर २ मा स्वतन्त्रबाट लालविर चौधरी विजयी
- बुधबार मङ्सिर ७ , २०७९
मिन अधिकारी, राजापुर । प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नम्बर २ मा चुनाव चिन्ह नल्काका स्वतन्त्र उम्मेदवार लालविर चौधरी विजयी हुनुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई १३६ मतले पछिपार्दै चौधरी विजयी हुनुभएको हो ।
चौधरीले २६ हजार ५२० मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३८४ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा एमालेका पंकजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गर्नुभएको छ । विजयी स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा हुनुहुन्छ । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिनुभएका लालविर चौधरीलाइ सहयोग गरेको हो ।
जेल जिवन विताईरहेका रेशम चौधरीले नागरिक उन्मुक्ती पार्टीबाट उम्मेद्वार दिएपनि उम्मेद्वारी खारेज भएपछि पार्टीले स्वतन्त्र उम्मेदवार लालविर चौधरीलाई सर्मथन गरेको थियो । बर्दिया क्षेत्र नम्बर २ मा १ लाख ५२ हजार ६२ मतदाता रहेकोमा ९२ हजार ४ सय १९ मत खसेको थियोे ।