गुलरियाबाट उद्धार गरिएका सडक मानव बाँके आश्रममा
- मंगलबार कार्तिक २२ , २०७९
चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरिया स्थित सडकहरुमा सहयोगापेक्षी (मगन्ते) का रुपमा रहेका मानवहरु ब्यवस्थापन गरिएको छ । गुलरिया नगरपालिका र मानव सेवा आश्रम बाँकेको संयुक्त आयोजनामा मानव प्रर्बद्धन महाअभियान अन्र्तगत उनीहरुको उद्धार गरिएको हो ।
जाडो महिना शुरुवातको पूर्वसन्ध्यामा उद्धार गरिएका सडक मानवहरुको गुलरिया नगरपालिकाको सिफारिसमा मानव सेवा आश्रम बाँकेले उनीहरुको भरणपोषण, स्वास्थ्य, सुरक्षा र हेरचाह गर्ने गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष एवम् गुलरिया नगरपालिकाका प्रवक्ता सुधांशु प्रकास शर्माले जानकारी दिनुभयो । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव, जिल्ला प्रहरी कार्यालय बर्दिया र समुदाय प्रहरी साझेदारी कार्यक्रमको टीम, सामाजिक अभियन्ता मेघमान श्रेष्ठ, मानवसेवा आश्रम बाँकेका संयोजक सहितको टोलीले गुलरियाका विभिन्न वडाहरुबाट ७ जनाको उद्धार गरेको शर्माले जानकारी दिनु भयो ।
गुलरिया नगरपालिका वडा नम्वर २, ३, ५ बाट १/१ जना तथा वडा नम्वर ६ र ७ बाट २/२ जनालाई उद्धार गरिएको छ । १ जनालाई सडकमा नपठाउने शर्तमा परिवारको जिम्मा लगाईएको हो । गुलरिया नगरपालिकालाई सहयोगापेक्षी मानवमुक्त पालिका बनाउने अभियानलाई उद्धार कार्यले सहयोग पुग्ने नगरपालिकाको विस्वास छ । गुलरिया नगरपालिका वडा नम्वर ६ बजार क्षेत्र भएकाले पनि सहयोगापेक्षी मानवहरु आईरहने भएकाले वडाले विशेष निगरानी राख्ने वडा अध्यक्ष शर्माको भनाई छ ।