बाँसगढीका किसानलाई उन्नत जातको गहुँको विउ वितरण
- मंगलबार कार्तिक २२ , २०७९
विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकाले नगर भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण शुरु गरेको छ । किसानहरुलाइ उन्नत जातको गहुँको बिउ वितरण कार्य शुरु गरिएको हो ।
कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी कृषिको उत्पादकत्व बढाउन नगरपालिकाले अनुदानमा विऊ वितरणको शुरुवात गरेको बाँसगढी नगरपालिकाका कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले जानकारी दिनुभयो । पालिकाभित्रका खेती योग्य जमिनमा गहुँबाली लगाउन कृषकलाई सहुलियत होस भन्ने उद्देश्यले २ सय ७० क्विन्टल गहुँको बिउ वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो । नगरपालिकाले पहिलो चरणमा विजय जातको गहुँ किसानलाई वितरण गरेको र यसपछि बाणगंगा जातको गहुँ वितरण गरिने नगरपालिकाको कृषि शाखा अधिकृत अस्मिता वलीले जानकारी गराउनु भएको छ ।
उहाँका अनुसार अहिले नगरपालिकामा विजय जातको गहुँको बिउ वितरण शुरु गरिएको छ । आज पहिलो दिन साढे ३९ क्विन्टल गहुँ वितरण गरिएको बताईएको छ । १३ जना ब्यक्तिगत कृषि र ८ वटा कृषक समुहलाई विउ वितरण गरिएको हो । विउ वितरणको शुभारम्भगर्दै नगर उपप्रमुख इन्दिरा चौधरीले नगरका किसानलाई सहुलियतमा कृषि उपजका बिउबिजन उपलब्ध गराएर उत्पादनलाई प्रोत्साहन गर्ने र उत्पादकत्व बढाई नगरपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सहज हुने विस्वास लिईएको बताउनु भयो ।