fbpx

नमस्ते सहकारीको कार्यालय संचालन गरी ऋण असुली गरिने

नमस्ते सहकारीको कार्यालय संचालन गरी ऋण असुली गरिने


हरिवंश पाण्डे, बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वार्ड नम्वर ६ स्थित जिल्ला प्रहरी कार्यालय नजिकै केन्द्रीय कार्यालय रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष र व्यवस्थापक सम्पर्क विहिन भएका छन् । अध्यक्ष नगेन्द्र बहादुर रिमाल र व्यवस्थापक संजीव कुमार महतो विगत केही दिन देखि सम्पर्क विहिन भएका हुन ।

अध्यक्ष र व्यवस्थापक सम्पर्क विहिन भएपछि शेयर सदस्यहरु आफ्नो रकम के हुने हो भन्नेमा अन्यौलमा छन् । आफ्नो बचत र शेयर गरी करोडौं रकम लिएर फरार रहेको भन्दै पीडित सदस्यहरूले जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय गुलरियामा उजुरी दर्ता गराएका छन् । यसै बीच अध्यक्ष र व्यवस्थापक सम्पर्क विहिन भएपछि संस्थाका उपाध्यक्ष, सचिव र कोषाध्यक्षले संयुक्त विज्ञप्ती निकाल्दै संस्थामा देखेको हालको विषम परिस्थितिमा शेयर सदस्यलाई संयम हुन आग्रह गर्दै छिट्टै समस्याको समाधान गरिने बताएका छन् ।

संस्थाका उपाध्यक्ष गोमा केसी सचिव मुकुन्द सुवेदी र कोषाध्यक्ष दधिराम लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा सत्यतथ्य प्रशासन कार्यालय बाट छानबिन भइरहेको जनाएको छ । शनिबार बसेको बैठकले मंसिरको १५ गते भित्र लेखा परीक्षण गराई मंसिरको २९ गते संस्थाको साधारण सभा गर्ने तयारी भइरहेको हुँदा शेयर सदस्यलाई सहयोग गरिदिन अनुरोध गरिएको छ । हाललाई दैनिक कार्यालय सञ्चालन र ऋण असुली बाहेक अन्य सम्पूर्ण कार्य साधारण सभा सम्मका लागि स्थगित गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला सहकारी संघ बर्दियाले पनि प्रेस विज्ञप्ती जारीगर्दै सदस्यहरुले जमा गरेको पैसा संचालकको घरघरानाबाट असुल उपर गरिने सहकारी ऐनमा उल्लेख भएकाले नआत्तीन आग्रह गरेको छ । अध्यक्ष नवराज ढुँगानाद्वारा हस्ताक्षरित विज्ञप्तीमा ग्राहक तथा सदस्यहरुलाई प्रकृया कानूनी रुपमा पुगीसकेकाले संयमित रहन अनुरोध गरिएको छ । कुनै पनि हालतमा सदस्यले जमा गरेको रकम फिर्ता हुने भएकाले ढुक्क रहन सहकारी संघले विस्वास दिलाएको छ ।

तपाइको मत