fbpx

राजनितिमा ईमान्दारीताको खडेरी : नेतृ सरला रेग्मी

राजनितिमा ईमान्दारीताको खडेरी : नेतृ सरला रेग्मी

यादव आचार्य, गुलरिया । तत्कालिन द्वन्दका बेला नेकपा (माओवादी) बाट बाँके–बर्दिया सम्हाल्ने जिम्मेवारी वहन गरेकी सरला रेग्मी अचेल आफूलाई स्वतन्त्र भन्न रुचाउँछिन् । नेकपा (माओवादी) भित्र कट्टरपन्थी गुटकी रेग्मी यतिखेर पार्टीमा ईमान्दारीता र आदर्शमा कुठाराघात भएको महशुस गर्न थालेकी छिन् । तरपनि उनलाई राजनिति गर्ने रहर अझै सकिएको छैन ।

संविधान सभाको निर्वाचन ०६४ सालमा बर्दिया क्षेत्र नम्बर १ बाट रेग्मीले नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतमलाई करिव ५ हजार बढी मतले पराजित गरेकी थिईन् । गौतमले १३ हजार बढी मत ल्याउँदा रेग्मीले १७ हजार बढी मत प्राप्त गरेकी हुन् । उनी नेकपा (माओवादी) विभाजनपछि नयाँ वैंद्य निकट नयाँ कम्युनिष्ट पार्टी (माओवादी) मा रहीन् । नयाँ पार्टीको केन्द्रिय सदस्यमा समेत रेग्मी लामो समय सम्म रहिनन् । वैंद्यको पार्टी फुटेर विप्लव अलग्गिएपछि केही समय उनी विप्लवको पार्टीमासँगै रहिन् ।

त्यसमा पनि उनले युवाहरुलाई जिम्मेवारी सुम्पेर आफू पार्टीबाट बाहिरिन् । ‘राजनिति जरुरी छ ।’ ‘पार्टीमा ईमान्दारीता र आदर्शमा कुठाराघात भएको छ’ त्यसैले, ‘राजनितिमा अरुचि भएपछि हिजोआज कुनै दलमा नलागी स्वतन्त्र छु ।’ उनले भनिन्, ‘राजनितिमा मेरो रहर सकिएको छैन । कुनै बेला पार्टीहरुमा ईमान्दारीता पाएभने फेरी राजनिति गर्छु ।’ ‘पार्टीबाट टाढिएपछि केही समय मानव अधिकारको पक्षमा संस्थागत भएर काम गरे’, ‘अहिले आफूलाई स्वतन्त्र रुपमै राखेकी छु ।’ ‘जनयुद्ध शुरु हुनु अघि ०४६/४७ सालदेखि नै बर्दियामा राजनितिमा लागेंकी हुँ’, उनले प्रष्ट पारिन् ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्वर ७ हर्नहवा रेग्मीको माईती हो । जनयुद्धकालको विषम परिस्थितीहरुलाई स्मरणगर्दै उनले थपिन्, ‘०५३ सालमा बाँके–बर्दिया सचिवालय सदस्य सम्हाले, ०५० सालमा पार्टीमा महिला संगठनको केन्द्रिय सदस्य भएर काम गरे’, ‘भेरी–कर्णाली अन्र्तगत सुर्खेत, डोल्पाको ईन्चार्ज भएर काम गरें ।’ ‘पछिल्लो समय राजनितिमा देखिएको अस्वस्थ तथा दुष्ट प्रबृत्तिका कारण राजनितिक प्रतिको चाँसो घट्दै गएको’, प्रष्ट्याउँदै उनले भनिन्, ‘राजनिति प्रति दिक्क लागेर ५/६ बर्षदेखि स्वतन्त्र रुपमा बसेकी छु’, ‘पार्टीहरु सच्चिए भने फेरी राजानिति गर्ने ईच्छा छ ।’ उनले दोहोर्याईन्, ‘राजनिति अपरिहार्य छ, ‘स्वच्छ राजनिति मेरो चाहाना हो ।’

साभार : अन्नपूर्ण पोस्ट्बाट ।

तपाइको मत