श्रमऐन बिपरित स्वास्थ्यकर्मीलाई ड्युटी
- आइतबार कार्तिक २० , २०७९
यादव आचार्य, गुलरिया । राष्ट्रिय समावेशी आयोगले नेपालका स्वास्थ्य संस्थामा कामगर्ने स्वास्थ्यकर्मीहरुको कार्य समय श्रम ऐन ०७४ ले तोकेको भन्दा धेरै देखिएकोभन्दै ध्यानाकर्षण गरेको छ । दैनिक १२ घण्टा भन्दा बढी काममा नलगाउने ब्यवस्था तुरुन्त मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचारगर्दै मापदण्ड अनुसार काम गराउन अनुरोध गरेको छ ।
आयोगको भदौ २ गते बसेको बैठकले निर्णयगर्दै चिकित्सक, प्यारामेडिक तथा नर्सिग स्टाफहरुको कार्यसमयका बारेमा गम्भीर हुन सम्वन्धित निकायहरुलाई सचेत पारिएको छ । आयोगका शाखा अधिकृत मनिकमान महर्जनले मन्त्रालयलाई भाद्र ५ गते पत्रचारगर्दै स्वास्थ्यकर्मी हरुसँगको अन्र्तक्रिया तथा आयोगले गरेको अध्ययनको क्रममा कतिपय अस्पतालहरुमा निरन्तर २४ घण्टा सम्म र केहीमा ३६ घण्टा सम्मपनि ड्युटी तोकिएको पाईएको जानकारी गराएका छन् । कुनैपनि स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मीहरुलाई श्रम ऐन २०७४ को दफा २८ वमोजिम प्रतिदिन ८ घण्टा र एक हप्तामा ४८ घण्टा भन्दा बढी समय काममा लगाउन नपाईने प्रावधान छ ।
उक्त ऐनको दफा ३० वमोजिम प्रतिदिन ४ घण्टा तथा हप्तामा २४ घण्टा भन्दा बढी अतिरिक्त समय काममा नलागउन नपाईने ब्यवस्था छ । ऐनको दफा ३१ वमोजिम अतिरिक्त समय काममा लगाईए तोकिए वमोजिम अतिरिक्त पारिश्रमीक दिनुपर्छ । त्यस्ता कार्यको सघन रुपमा अनुगमन गर्न समेत आयोगले मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । आयोगले स्वास्थ्य मन्त्रालयमा गरेको पत्राचारको वोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ ।
जिल्लाकै पुरानो बर्दिया अस्पतालमा पनि स्वास्थ्यकर्मीहरु ऐन विपरित ड्युटीमा खटिने गरेका छन् । अस्पतालमा आवस्यक जनशक्ति छैन । ५९ जनाको दरवन्दी रहेको अस्पतालमा २७ जना कर्मचारीले धानेका छन् । एउटा डाक्टरले विहान, दिउँसो, बेलुकी तिनै टाईम ड्युटी गर्नुपर्छ बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेयले बताए । अस्पतालमा प्रयाप्त जनशक्ति छैन । बिषेशज्ञ चिकित्सकको ९ जना दरवन्दी हो पूरै खाली छ । जनशक्ति पुरानै छ । पूर्वाधार र विरामी बढेका छन् । आवस्यक जनशक्ति ब्यवस्थापन नगरी श्रम ऐन लागुहुन कठिन देखिन्छ ।
प्रमुख डा. पाण्डेयले भने कुनै चिकित्सक अध्ययन विदामा गएपनि हामीलाई समस्या हुन्छ । कर्मचारी रिप्लेस गर्नै ढिलाई हुन्छ । पुरानै संख्यामा जनशक्ति छन् । प्रदेसमा लोकसेवा नखुल्दापनि दरवन्दी श्रृजना भएका छैनन् । अस्पतालमा उचित बजेट ब्यवस्थापन नहुँदा ओटीको भुक्तानी दिन सकिदैन । स्थायी दरवन्दी पनि छैन । अस्पतालमा विरामी आउने क्रम विगतका बर्षहरुको तुलनामा दोब्बर बढेको छ । जनशक्ति समयानुकुल हुन नसक्दा स्वास्थ्य क्षेत्रका कर्मचारीहरु बढी समय काममा खटिनु पर्ने बाध्यता रहेको उनले प्रष्ट्याए ।
ओसीएमसी जस्ता कार्यक्रमहरु संचालनमा छन् । कर्मचारी एउटै छ । अनि २४ सै घण्टा सेवा नदिएर के गर्नु । सेवा रोक्नु त भएननी । राज्यले पर्याप्त बजेट र जनशक्ति ब्यवस्थापन गरिदिए सबै समस्या समाधान हुनेमा उनले विस्वास दिलाए । ५० शैयाको बर्दिया अस्पतालमा स्टाफनर्श ४४ जना हुनुपर्छ ९ जनाले मात्र चलाएका छन् । प्रसुती सेवामा गर्भवतीहरु बढेका छन् । अस्पतालको वहिरंग, अन्तरंग एवम् आकस्मिक तिनै तहको सेवामा सेवाग्राहीको चाँप बढेको छ । अब कर्मचारी लगायतका दरवन्दी पनि बढाउनु जरुरी छ । दरवन्दी नबढेसम्म स्वास्थ्यकर्मीहरुको श्रम अधिकार सधै हनन भैरहने देखिन्छ उनले भने ।