‘चुक्यौंभने लोकतान्त्रिक आन्दोलन भड्खालोमा जान्छ’ : गौतम
- आइतबार कार्तिक १३ , २०७९
चुरेकुञ्ज, बर्दिया । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा जनता चुक्यौं भने लोकतान्त्रिक आन्दोलन भड्खालोमा जाने नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री संजय कुमार गौतमले बताउनु भएको छ । बर्दिया क्षेत्र नम्वर १ (१) बढैयाताल बर्दियाले आयोजना गरेको वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त कार्यकर्ता भेलालाई सम्वोधनगर्दै नेता गौतमले गठबन्धनमा कन्फ्युज हुनुपर्ने कुनै ठाउँ नभएको प्रष्टाउनु भयो ।
आआफ्ना पार्टीका समानुपातिक उम्मेदवारलाई भोट दिने ठाउँ सुरक्षित रहेकाले गठबन्धनको स्पिडलाई बुझिदिन उहाँको आग्रह छ । केन्द्रदेखि प्रदेस सम्म आगामी सरकार गठबन्धनको नेतृत्वमा बन्ने भएकाले मुलुकले स्थिर सरकार पाउने विस्वास दिलाउँदै बर्दिया प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर १ का उम्मेदवार समेत रहेका गौतमले गठबन्धन भन्दा बाहिर जान गठबन्धनमा आबद्ध दलहरुलाई कुनै अधिकार नभएको ठोकुवा गर्नुभयो ।
दुई तिहाई सरकार हुँदा समेत बर्दियाका मुक्तकमैया लगायत सुकुम्वासीहरुका समस्या समाधान नभएको संकेतगर्दै दुई तिहाई सरकारको अवस्थामा केपी वलीले शक्ति संचय गरेर माओवादीलाई कसरी ठेगान लगाउने, काँग्रेसलाई कसरी पेलेर राख्ने भन्नेतर्फ केन्द्रित भई जंगबहादुर बनेर मुलुकमा उत्तरकोरीयाको जस्तो एकलौटी शासन गर्ने मनसाय बोक्दा दुई तिहाईको सरकार र्दुघटनामा पारेको नेता गौतमको आरोप छ । दुई तिहाइको बलमा जादु चटक गरेर विउ, मल नपाउने देशमा पानी जहाज र रेल ल्याउने आस्वासनले जनता भुलाउने काम गरेको उहाँको भनाई छ ।
झुटा बाचा र आस्वासन बाड्नेलाई जनताले कुनैपनि हालतमा नछाड्ने बताउँदै एमाले आफ्नो चुनावी प्रचार भन्दापनि गठबन्धन बिरुद्ध प्रस्तुत भएको बताउँदै गठबन्धनबाट धेरै जना अत्तालिएको ठोकुवा गर्नुभयो । नागरिकता विधेयकका बिषयहरु बाहिर प्रचारमा आएजस्तो गलत नभएको गौतमको भनाई छ । काँग्रेसले गठबन्धनका सम्बन्धमा माओवादीबाट शिक्षा लिनुपर्ने बताउँदै नेता कार्यकर्ताहरुलाई गठबन्धनको मर्म विपरित नजान आग्रह गर्नुभयो । बर्दियामा सम्भावना धेरै विकास कम भएकाले भारतीय नाका, भुरीगाउँ तेलपानी सडक, प्राविधिक शिक्षालय आफ्नो मुख्य एजेण्डा रहेकाले जिल्ला तथा प्रदेसका सबै जनताको भावनाको सम्मानमा कुनै कमी नगर्ने उहाँको प्रतिवद्धता छ ।