तिहारको मुखमा राहत पाउँदा गुलरियाका बाढी पिडीत खुशी
- बुधबार कार्तिक ९ , २०७९
चुरेकुञ्ज, गुलरिया । तिहारको मुखमा राहत पाउँदा गुलरिया नगरपालिका अन्र्तगतका बाढीपिडितहरु खुशी भएका छन् । असोज अन्तिम साता आएको अविरल बर्षाका कारण पिडित बनेका उनीहरु चाडपर्वको मुखैमा राहत बुझ्न पाउँदा हर्षित भएका हुन् ।
तिहार अघि गरिएको राहत वितरणले बाढी तथा डुवानमा रहेका घरपरिवारले तिहारमा खुसियालि ल्याइदियको प्रतिकृया दिएको कमैया महिला जागरण समाज नेपालका परियोजना संयोजक अनुपम न्यौपानेले बताउनु भएको छ । तथ्यांक आउन ढिलाईले गर्दा बितरण केहि दिन ढिला भयपनि पर्वको अगाडी गरिएको राहत वितरणले पिडित परिवारमा खुशी छाएको उहाँको भनाई छ । कमैया महिला जागरण समाज नेपालले गुलरिया नगरपालिकाका बाढी तथा डुबान प्रभावितलाई राहत बितरण गरेको हो । नगरपालिका अन्तर्गत वडा नम्बर ५, ८, ११ र १२ मा बाढीको प्रभाव देखियको थियो ।
संस्थाले खाद्य राहत तर्फ १ सय ५० घरपरिवारलाई कोमोडिटी भौचर प्रणालीबाट राहत बितरण गरेको संयोजक न्यौपानेले चुरेकुञ्जलाई जानकारी दिनुभयो । त्यस्तै गैर खाद्य तर्फ १ सय ५० घरपरिवारलाई त्रिपाल तथा झुल बितरण गरेको छ । पालिका तथा स्थानिय रेडक्रस अन्तरगत गरिएको सर्बेक्षणको आधारमा लाभान्वित छनौट गरियको हो । चाडवाडमा हुन सक्ने सम्भावित भिडलाई मध्यनजर गर्दै संस्थाले २ वटा सप्लायर बाट खाद्य राहत लिने ब्यवस्था गरेको थियो । प्रभावितको हित सुनिश्चितका लागि पारदर्शिता ब्यानर प्रयोग गरि मुल्य सुचि देखाईएको छ । राहत बितरण कार्तिक ६ देखि ८ गते सम्म गरिएको संस्थाले जनाएको छ ।