fbpx

जनताको शीर कहिल्यै झुक्न दिन्न : जन्मजय तिमिल्सिना

जनताको शीर कहिल्यै झुक्न दिन्न : जन्मजय तिमिल्सिना


प्रदेससभा सदस्य निर्वाचन बर्दिया क्षेत्र नं.–२ (१) बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जन्मजय तिमिल्सिनाले गठबन्धनलाई विश्वास र भरोसा गर्न आग्रह गर्नुभएको छ । जनताले दिएको अभिमत निराशामा पार्ने काम जीवनमा कहिल्यै नगर्ने उहाँको प्रतिबद्धता छ । आसन्न मंसिर ४ गते हुने प्रदेस सभा सदस्य निर्वाचन क्षेत्र नं.–२ (क) बाट बाम–लोकतान्त्रिक गठबन्धनतर्फ नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएको छ । प्रस्तुत छ, चुरेकुञ्जकर्मीको तिमिल्सिनासँग भएको कुराकानीको सार अंश ।

तपाईं बाम–लोकतान्त्रिक गठ–बन्धनको उम्मेदवार हुनुहुन्छ, आफ्नो क्षेत्रको समृद्धिका बारेमा कस्तो एजेण्डा अघि सार्नु भएको छ ?

मैले प्रदेस सभा सदस्य निर्वाचन बर्दिया क्षेत्र नं.–२ (१) बाट उम्मेदवारी दिएको छु । पार्टी, गठ–बन्धनले मलाई विश्वास गर्यो, त्यसकारण मैले जिम्मेवारी लिएर आएको हुँ । कहिले काहिँ मेरो शिर निहुरिन सक्छ तर यहाँका जनता मेरो अभिभावक वुद्धिजिबी, मजदुर, मुक्तकमैया, किसान, युवा भाईबहिनी लगायतको कहिले पनि शिर झुक्ने काम गर्ने छैन । उहाँहरुलाई उच्च स्थानमा राखेर जनताको काम कटिबद्ध भएर गर्नेछु । जिम्मेवारी पूर्वक प्रस्तुत हुने पूर्ण अठोटका साथ म मेरो उम्मेदवारी दिन र प्रतिस्पर्धा गर्न आएको हुँ । त्यसैले म के आग्रह गर्न चाहान्छु भने भोलि निर्वाचनमा जनताको अमूल्य मतले निर्वाचित भएको खण्डमा यस क्षेत्रका धेरै समस्याहरु सुल्झाउने प्रतिवद्धता पनि गर्छु ।

अहिले कल्पना गरेर मात्र हुदैन । जनताका विचमा जनताले देख्ने गरि त्यस्ता खाले विकास गर्न जरुरी छ । मलाई त्यस्तो विकास गर्ने चाहना र विश्वास मैले लिएको छु । पहिले मैले थुप्रै काम पनि गर्ने प्रयास गरेको छु । हिजोको दिनमा यहाँका साथीहरूसङ्ग सहकार्य गरेर काम गरेको छु । मेरो प्रतिबद्धता के छ भने म निर्वाचित भए विकास गर्ने थुप्रै अवसर छन् । म अहिले नै यस प्रदेशलाई स्विजरल्याण्ड, सुनको चिडिया बनाई दिन्छु भन्न चाहान्न विकास भनेको क्रमिक रुपमा हुने कुरा हो । विकासका योजना म सङ्ग छन । जस्तै यस क्षेत्रमा ठाकुरद्वारा पर्यटकीय क्षेत्र महत्वपूर्ण छ । त्यसलाई कसरी ब्यवस्थापन गर्ने, बाह्य, आन्तरिक पर्यटक कसरी भित्र्याउने वा आकर्षित गर्ने योजना छन् ।

त्यस्तै बर्दिया मधुवन र निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली जनावरको ठूलो समस्या छ । जंगली जनावरबाट मानवलाई कसरी सुरक्षीत गर्ने ठूलो चुनौती पनि छ । जंगली जनावरलाई पनि सुरक्षा गर्न राष्ट्रका लागी जरुरी छ । त्यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने चुनौती छ । त्यसलाई पनि ब्यवस्थापन गर्नुपर्छ । मानव जीवन भन्दा ठूलो कुरा केही पनि छैन । मुक्त कमैयाको समस्या पनि छ लालपुर्जा पाएको छ जग्गा पाएको छैन । नदि ब्यवस्थापनमा बर्दिया जिल्लाको सबैभन्दा ठूलो समस्या हाम्रो क्षेत्रको हकमा नदि ब्यवस्थापन गर्न आवश्यक पनि छ । त्यसैगरी शिक्षा स्वास्थ्यलाई हामीले कसरी सम्बोधन गर्ने लगायतका यावत् समस्यालाई सम्बोधन गर्छु । अति विपन्न, सिमान्तकृत लगायत गिट्टी कुट्ने गरीबको छोरालाई कसरी शिक्षा र स्वास्थ्यमा जोड्ने यो कुरालाई सम्बोधन गर्न आजको आवश्यकता जरुरी छ । किनभने आँखा खोली दिने शिक्षाले हो । समाजलाई परिवर्तन गर्न सक्ने सोच भएको ब्यक्ती जबसम्म शिक्षा अध्ययन गर्न सक्दैन तबसम्म अगाडी बढ्न सक्दैन भन्ने मैले महशुस गरेको छु । म यी काम गर्न प्रतिबद्ध छु ।

त्यसैले आग्रह गर्न चाहन्छु प्रदेश २ (१) लाई विकसित समृद्धशाली बनाउन यहाँका जनताको साथ र सहयोग आजको आवश्यकता हो भन्ने मैले ठानेको छु । यी समग्र कुरालाई अगाडि बढाउनु पर्छ । जनताको अगाडि कहिले पनि शिर झुकाउने काम गर्दिन । किसानले सिमाबाट एक बोरा रासायनिक मल ल्याउदा समेत समस्या झेल्नुपर्ने बाध्यता छ । प्रहरी प्रशासनले रोक्छ तर किसानलाई मार परेको हुन्छ, एक बोरा रासायनिक मल खेतमा हाल्यो भने किसानले बढी उत्पादन गर्छ । हामीले समयमा रासायनिक मल उन्नत बीउ विजन उपलब्ध गराउन सकेका छैनौं किन भने नेतृत्व जिम्मेवार नभएर हो ।

हामी जिम्मेवार भएर प्रस्तुत हुनेमा दुई मत छैन । यहाँको समुदाय मेरो आदरणीय अभिभावक, मतदाता ज्युहरुको शिर झुकाउने काम कहिले पनि गर्ने छैन । म आफ्नो शिर निहुराएर भएपनी यहाँको समुदायको शिर ठाडो पारेर काम गर्ने छु । शिक्षक, मजदुर, किसान, आदिवासी जनजाती, दलित र युवा सबैलाई समेटेर म कुनै भेगिए वर्गीय नारा नलगाएर सम्पुर्णलाई समेटेर समग्र प्रदेसलाई समृद्ध बनाउन लागी पर्ने छु ।

तपाईको क्षेत्रका युवाहरु रोजगार नपाएर खाडी मुलुकको प्रचण्ड गर्मी तापक्रममा काम गरेरहेका छन् युवाको जिविकोपार्जनका लागी तपाईको योजना के छ ?

नेपालको तथ्यांक हेर्ने हो भने दक्ष जनशक्ति खाडी मुलुक पलायन भएका छ्न । नेपालमा आफ्नो भविष्य नदेखेर युवाहरू विदेशिनु परेको तितो सत्य छ । युवाहरूलाई रोजगार बनाउन यस क्षेत्रमा कम्तीमा पनि २/४ वटा ठुला उद्योग भित्र्याउन जरुरी छ । अब बाम–लोकतान्त्रिक गठ–बन्धनलाई हातेमालो गरेर हाम्रो राजनैतिक सोच र राज्यलाई अगाडि बढाउने, संविधान जोगाउने साथै नेपाललाई विकसित, समृद्धिशाली कसरी बनाउने भन्ने कुरा युवाहरूले बुझ्न जरुरी छ भन्ने साझा अठोटका साथ नेपाली कांग्रेसले अगुवाई गरेको अवस्था छ । हामी जिम्मेवार पार्टी पनि हौं । त्यसैले युवा साथीहरूले वाम–लोकतान्त्रिक गठ–बन्धनलाई धोका दिनु हुदैन ।

अन्त्यमा, तपाईका क्षेत्रका जनतालाई के भन्नुहुन्छ ?

सर्वप्रथम म यहाँका मतदाताहरुलाई हार्दिक अपिल गर्न चाहान्छु कि वाम–लोकतान्त्रिक गठ–बन्धन तथा नेपाली कांग्रेसको उम्मेदवारको हैसियतले यस प्रदेशका ८१ हजार ६ सय २९ मतदाताका सबैको घर आँगनमा पुग्न नभ्याएपनि हाम्रो वाम–लोकतान्त्रिक गठबन्धनको विचारलाई आधार मानेर हाम्रो आवाज तपाईंको घर आँगनमा पुगेको सम्झी एक पटकलाई अमुल्य मतसहित अवसर प्रदान गर्न हार्दिक अनुरोध गर्छु । धन्यवाद ।

तपाइको मत