बाढी प्रभावित क्षेत्र राजापुरमा नेपाली सेनाको स्वास्थ्य शिविर
- आइतबार कार्तिक ६ , २०७९
चुरेकुञ्ज, गुलरिया । कर्णाली नदीको बाढीबाट प्रभावित बर्दिया राजापुर क्षेत्रका स्थानियहरुको नेपाली सेनाले शिविर मार्फत स्वास्थ्य चेकजाँच गरेको छ । राजापुर नगरपालिका तथा नेपाली सेनाको संयुक्त आयोजित शिविरमा बाढी प्रभावित समुदायहरुले स्वास्थ्य चेकअप, परामर्श, ल्याव, एक्सरे, ईसीजी, औषधीय लगायतका सेवा निःशुल्क लिएका छन् ।
‘राजापुर नगरपालिका वडा नम्वर ४ स्थित अमर शहीद दशरथ चन्द माध्यमिक विद्यालय परिसरमा बाढी प्रभावित समुदायको सहयोगार्थ स्वास्थ्य शिविर सम्पन्न गर्यौं’, ‘राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारुको सुझाव, नेपाली सेनाको ४ नम्वर बाहिनी अड्डा बाँकेका सहायक रथी उत्तम कुमार विष्टको निर्देशन, बज्रदल गण राँझा बाँकेका गणपति श्याम आत्रेय पौडेल तथा सेनानी शिव थापासहितको टोलीले शिविर स्थल पहिचान गरेको थियो’ ।
राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले भने, ‘शिविरमा जनरल फिजीशीएन सेवा, प्रसुती तथा महिला रोग, छाला तथा यौनजन्य रोग लगायत स्वास्थ्य सम्बन्धी विविध परामर्श सेवा प्रदान गरिएको छ’ । शिविरमा ४८७ जनाले जनरल स्वास्थ्य सेवा, ५५ जनाले महिला तथा स्त्रीरोग सेवा, १०८ जनाले छाला तथा यौनजन्य रोग गरी कुल ६४१ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा, ‘५० जनाले ल्याव सेवा, ४० जनाले एक्सरे र १० जनाले ईसीजी सेवा लिएको’, शिविर ब्यवस्थापक सेनानी शिव थापाले जनाए ।
‘शिविर संचालन गर्न स्वास्थ्य शाखा राजापुर, नेपाली सेना, भेरी अस्पताल बाँके, बर्दिया अस्पताल गुलरियाले सहकार्य गरेको’, राजापुर नगरपालिकाका प्रवक्ता असराज न्यौपानेले जानकारी दिए । ‘केयर नेपालको सहयोगमा बीग्रुप बाँकेले औषधी ब्यवस्थापनमा सहजीकरण गरेको छ’ । नेपाली सेनाको सामाजिक सेवामूलक कार्यले सेना, स्थानिय सरकार र समुदायबिच सुमधुर सम्बन्ध निर्माण गर्न सहयोग पुग्ने स्थानियको भनाई छ । नेपाली सेनाले बिपदका बेला सहयोग पुर्याउँदै आएको छ । असोज अन्तिम साता कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिका क्षेत्रका बस्तीहरु डुवानमा परेका हुन् ।
सोही अवधिमा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका क्षेत्रमा डुवान भएको हो । बर्दियामा परेको अविरल बर्षाका कारण किसानहरुले सयौं विगाह क्षेत्रमा रहेका धानवालीमा नोक्सानी ब्यहोर्नु परेको छ । बाढीका कारण केही घरहरु पूर्ण तथा आशिंक क्षती भएका छन् । अविरल बर्षाका कारण बर्दियाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका तथा गेरुवा र बढैयाताल गाउँपालिकाका स्थानियहरु प्रभावित बनेका हुन् । विपद ब्यवस्थापन समिति बर्दियाले बाढीबाट भएको अन्तिम तथ्यांक सार्वजनिक गर्ने तैयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
अन्नपूर्ण पोस्ट्बाट ।