नेपालगन्जमा दलित मुक्ति जागरणको विशाल प्रर्दशन
- मंगलबार चैत ३१ , २०७७
दीपकलाल श्रेष्ठ, बाँके । राष्ट्रिय दलितमुक्ति जागरण अभियानले बाँकेको नेपालगंजमा विशाल प्रदर्शन गरेको छ । दलित समुदायको हक अधिकार स्थापित गर्न मागगर्दै जागरण अभियानले बाँकेको नेपालगञ्जमा लुम्बिनी प्रदेस स्तरीय भेला प्रदर्शन गरेको हो ।
राष्ट्रिय दलितमुक्ति जागरण अभियानले आयोजना गरेको भेलाले नेपालगन्जको धम्बोझीबाट पन्चेबाजा सहित ¥याली निकालेर त्रिभुवन चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
राज्यका हरेक अंग र निकायमा दलित समुदायको सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने, नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व र समुदायको पेशा व्यवसायको सुनिश्चितताको मागगर्दै प्रदर्शन गरिएको अभियानका संयोजक खगेन्द्र सुनारले बताए ।

जातीय विभेद, छुवाछुत र दलितमाथिको उत्पीडनविरुद्ध सचेतना जगाई सरकारलाई दबाब दिन प्रदर्शन आयोजना गरिएको सुनारले बताए । दलित समुदायको मुक्तिको लागि सडकमा उत्रिनु पर्ने अवस्था आएको प्रष्ट्याउँदै सुनारले सबै पाटी भित्र दलित समुदायले गरेको योगदानको ढड्डा पल्टाउने तयारी गरिरहेको बताए ।
यसअघि अभियानले सप्तरी र दैलेख जिल्लामा प्रदर्शन गरिसकेको छ । नेपालगंजमा सोमबार आयोजित प्रदर्शनमा लुम्बिनी प्रदेससहित कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ठूलो संख्यामा सहभागिता रहेको थियो ।
संविधानमा लेखिएको सहभागितामूलक र समावेशी राज्य संयन्त्र कार्यान्वयनमा नआएकोले कार्यान्वयनका लागि समुदायस्तरबाटै जनदबाब बढाउनुपर्ने आवश्यकता देखिएकोले कार्यक्रम मार्फत अभियानको आयोजना गर्नु परेको सुनारले बताए ।
प्रदर्शनमा पूर्वमन्त्री दलबहादुर सुनार, पूर्व सांसद आशा बिक, बागमती प्रदेशसभा सदस्य कल्पना नेपाली, अधियानका पूर्वी नेपाल संयोजक राजेश विद्रोहीलगायत दलित अगुवाहरुको सहभागिता थियो ।
अभियान मार्फत संघीय राजधानी काठमाडौं लगायत देशका अन्य शहरहरुमा समेत वृहत प्रदर्शन गर्ने तैयारी भैरहेको सुनारले भने ।
संविधानमा लेखिएको अधिकार व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउनका लागि समुदायस्तरमा जागरण र राज्यस्तरमा दबाबको खाँचो परेकाले अभियान सञ्चालन गरिएको बताईएको छ ।