अपांगता परिचय पत्र पाएपछि लप्टेनको भत्ता पाउने बाटो खुल्यो
- शनिबार असोज ८ , २०७९
दलबहादुर सुनार, बढैयाताल । राजापुर नगर पालिका वडा नं. १ छवहीका अति अशक्त अपांगता भएका लप्टेन चौधरीको लागि अपांगता परिचय पत्र पाउनु ठुलो उपलब्धि भएको छ । अपांगता परिचय पत्र बितरण समन्वय समिति राजापुर नगर पालिकाको बुधवार बसेको नियमिति बैठकमा अपांगता परिचय पत्र लिनको लागि पुगेका चौधरीले अतिअशक्त अपांगताको परिचय पत्र पाउदा ठुलो उपलब्धि भएको बताउनु भएको छ ।
कपाल सेतै फुलेका हेर्दा झण्डै ६५/७० वर्षका जस्ता देखिने तर नागरिकता अनुसार ५९ वर्षका अतिअशक्त तथा एकल समेत रहेका चौधरीले ख बर्गको निलो रंगको अपांगता परिचय पत्र ग्रहणगर्दै आफ्ना लागि ठुलो उपलब्धि भएको खुशी ब्यक्त गर्नुभयो । जन्म देखि दायाँ खुट्टा छोटो, कम्मर देखि दायाँ हर बांङ्गो, हिड्न धेरै कठिन अवस्थाका लप्टेनलाई राजापुर नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले परिचय पत्र हस्तान्तरण गर्नु भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका डाक्टर आलोक झाका अनुसार चौधरीको शारीरिक अवस्था धेरै कम्जोर भएको र दायाँ खुट्टाको समस्याको कारण बायाँ खुट्टामा समेत समस्या देखा पर्दै गएको छ । जसकाकारण हिडडुलमा धेरै कठिन भएको छ । उपचारबाट पनि सुधार नहुने हुँदा उहालाई अतिअशक्त अपांगताको परिचय पत्र प्रदान गरिएको राजापुर महिला शाखाकी प्रमुख रिता चौधरीले बताउनु भयो ।
लप्टेन चौधरी भन्नुहुन्छ हामी चार भाई मध्ये तिन भाईको बिवाह भयो मेरो अपांगता भएकै कारण बिवाह हुन सकेन । सुकुम्वासीमा एक्लै बस्दै आएको छु । पहिला जवानी हुँदा जिन तिन अरुको घरमा भैसी बाख्रा चराएर र सानो तिनो काम गरेर पेट पालेको थिए । अब बुढेस्काल लाग्यो काम गर्न पनि सक्दिन अहिले भोक टार्न समस्या छ । भाईहरु पनि अलग छन् । म एक्लै बस्छु । मेरो हेरचाह तथा सहयोग गर्ने कोही छैनन् । यस्तो अवस्थामा भत्ता पाउने कार्ड पाउँदा छाक टर्नेमा चौधरी ढुक्क हुनुहुन्छ ।