बिश्व हिन्दू परिषद नेपाल बर्दियाद्वारा माओबादी अध्यक्ष प्रचण्ड बिरुद्ध गुलरियामा बिरोध प्रर्दशन
- मंगलबार असोज ४ , २०७९
मुरली गोडिया, गुलरिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमको प्रसङ्गमा दिएको अभिव्यक्तीको विरोधगर्दै बर्दियाको गुलरियामा विश्व हिन्दु परिषद नेपाल बर्दिया शाखाले हिन्दुहरुलाई अपमान गरेकोभन्दै दाहाल विरुद्ध बिरोध प्रदर्शन गरेका छन् । हिन्दू परिषदका युवाहरुले मंगलबार गुलरियामा ¥याली सहित प्रचण्डको पुतला समेत जलाएका हुन् ।

प्रचण्डले शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवसको कार्यक्रममा हिन्दु धर्मलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको विश्व हिन्दु परिषद नेपाल बर्दिया शाखाका अध्यक्ष शुभम आचार्यले जानकारी दिनु भयो । परिषदले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई परिषद बर्दियाका अध्यक्षले बुझाउनु भएको ज्ञापन पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय, गृह मन्त्रालय र नेकपा माओवादी केन्द्रलाई पठार्ईएको जानकारी दिईएको छ ।

समाजमा ३३ कोटी देवतालाई पूजागर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर समग्र हिन्दु धर्म प्रति आस्थावान नेपाली जनमानसको भावनालाई प्रचण्डले उपहास गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । प्रचण्डले हिन्दु धर्मप्रति बोलेको अभिव्यक्ति फिर्ता लिई माफी माग्न समेत पत्रमा भनिएको छ । यसैगरि नेपालको साहित्यिक जगतका सुप्रसिद्ध नाटककार बालकृष्ण समबारे कटाक्ष गर्दै ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांशका कारण देश र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताएर ऐतिहासिक भाषा–साहित्य बारे निकृष्ट टिप्पणी गरेको परिषद्ले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
