छाडा पशु व्यवस्थापन गर्न ठाकुरबाबाको बनकट्टीमा गौशाला
- शुक्रबार भदौ ३१ , २०७९
भिमा कंडेल, बर्दिया । ठाकुरबाबा नगरपालिका वडा न ५ स्थित वनकट्टीमा गौशाला शिलान्यास गरिएको छ । ५ वर्ष अगाडी गाईको धेरै समस्या महसुसगर्दै जगदम्बा माविका तत्कालीन प्रधानाध्यापक दिनेश चन्द्र गौतमले विद्यार्थी परिचालन गरी रकम संकलनगर्दै ठाकुरद्वारामा गौशाला निर्माणका लागि शुरूवात गर्नु भएको थियो ।
तत्पश्चात ठाकुरबाबा नगरपालिकाको सहयोगमा तत्कालिन नगर प्रमुख, उपप्रमुख, ८ र ९ वडाका वडा अध्यक्षको प्रेरणामा गौशाला बनाउने निर्णय गरिएको हो । स्थानियको अनुरोधमा ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख विना भट्टराईको नेतृत्वमा निर्माण समिति बनाई गौशाला निर्माणका लागि चन्दा संकलन गरेको रकमबाट २ जना गाई हेरालुको पारिश्रमिक सहित मन्दिर समितिलाई हस्तान्तरण गरिएको थियो । सामुदायिक वनले चरन क्षेत्र नदिंदा आहारा व्यवस्थापन गा¥हो भएको छ ।
चरन क्षेत्र प्रर्याप्त भएका ठाउँमा थप गौशाला बनाउन आवश्यक भएको हो । वन्यजन्तुबाट हुने बाली क्षति भन्दा छाडा छाडिएका गाईले गरेको नोक्सानी दोब्बर भएको नगर उपप्रमुख भट्टराईले बताउनु भयो । छाडा पशुले सडक दुर्घटना पनि बढाउने गरेको छ । त्यसैले समुदायको माग र चरनको प्रयाप्त सम्भाव्यता हेरेर धेरै गाई व्यवस्थापन गर्न सकिने भएकोले बंबई नदीको किनारको सामुदायिक वनको छेउमा गौशाला निर्माण शुरूवात गरिएको हो । ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ ले १० लाख बजेट छुट्याएको छ ।
गाई संरक्षणका लागि दिर्घकालीन समाधानको उपायका लागि पनि पहल गरिएको छ । गाई पालनलाई उत्पादनसंग जोडेर एकीकृत परियोजना सञ्चालन गर्न नगरपालिकाबाट योजना माग गरि पठाइएको उपप्रमुख भट्टराइले जानकारी दिनु भयो । गाई हामीले अलपत्र पारेको हैन, पहिला घरमा पालेका पशु छाडा छाड्ने, दोश्रो वनमा चर्नै नदिने, तेश्रो व्यवस्थित चरीचरण गराएर गाई व्यवस्थापन गर्न सकिने अवस्थामा पनि चरनका लागि समन्वयात्मक भुमिका खेल्नु पर्नेले नखेलेर अलपत्र भएको बताउदै सवैले आफ्नो जिम्मेवारी पूरा गर्न उहाँले आग्रह गर्नुभयो ।