fbpx

बर्दियामा छोटी भन्सार कार्यालय थप्न ब्यवसायीको माग

बर्दियामा छोटी भन्सार कार्यालय थप्न ब्यवसायीको माग


यादव आचार्य, गुलरिया । सीमावर्ती भारतीय बजारका कारण नेपाली बजारमा ब्यापार मन्दी भई राजस्व छलीका कारण आर्थिक चुहावट भएकोभन्दै बर्दियाका सबै पालिकामा रहेका उद्योग बाणिज्य संघहरुले गुलरिया नगरपालिक वडा नम्वर ११ स्थित गणेशपुर नाकामा छोटी भन्सार कार्यालय स्थापनाको माग गरेका छन् । खुला सीमानामा भैरहेको निर्बाध ब्यापारको दीर्घकालिन समस्या समाधानतर्फ योजना तयार गरी अबैध आयातलाई निरुत्साहन गर्न बर्दियाका ब्यवसायीहरुको माग छ ।

नेपाल–भारत सीमाबाट निर्वाध रुपमा नेपाल तर्फ भित्र्याईने सरसामानको आयातमा कडाई गर्न बर्दियाका आठ ओटै स्थानियतहका उद्योग बाणिज्य संघहरुले जिल्ला प्रशासन कार्यालय बर्दियालाई संयुक्त रुपमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका छन् । आयात रोकी ब्यापारीको समस्या समाधान गर्न सिमानामा कडाई र भन्सार कार्यालय अविलम्ब स्थापनाको माग हाम्रो छ उद्योग बाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष देबेन्द्र पाण्डेले बताए । ब्यापारीहरुका जायज मागहरु अबिलम्ब पुरा नभए जिल्ला स्थित सम्पूर्ण उद्योग बाणिज्यहरुको पहलमा बजार बन्द गरी क्रमागत आन्दोलनमा जान्छौं ।

बर्दियाको खुला सीमासँग जोडीएका भारतको लौकाही बजार, चितलहवा, बठनिया तथा तिकुनिया बजारमा दैनिक उपभोग्य सामाग्री खरिद गर्न नेपालीहरु निर्बाध जाने गरेकोले नेपाली बजार सुक्दै गएको उनले प्रष्ट्याए । बर्दियाका बजारहरुमा तिज, दशै, तिहार लगायतका चाडपर्वमा समेत ब्यापार ब्यवसाय ठप्प छन् । भारतीय बजारमा किनमेल हुन थालेपछि जिल्लाका ब्यापारी तथा ब्यवसायीहरु मर्कामा परेको उनको भनाई छ । हजारौं नेपालीहरु दैनिक रुपमा भारतीय बजारमा सरसामान किनमेल गरी निर्बाध घरघर ल्याउने परिपाटिले एकातिर राजस्व गुमेको छ । अर्कोतिर स्थानिय नेपाली ब्यापारीको ब्यापार मन्दी भएको छ । ब्यापार ब्यवशाय चौपट हुँदा स्थानिय नेपाली ब्यापारीहरु विस्थापित भैरहेको तर्फ अध्यक्ष पाण्डेले चिन्ता ब्यक्त गरे ।

उद्योग बाणिज्य संघ बढैयाताल, मधुवन, बर्दिया राजापुर, बाँसगढी, बारबर्दिया, ठाकुरबाबा गेरुवा र गुलरियाका अध्यक्षहरुको उपस्थिती तथा संयुक्त हस्ताक्षरमा प्रमुख जिल्ला अधिकारीलाई समस्या समाधान गर्न ज्ञापन पत्र बुझाएको उद्योग बाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले बताए । समयमै ब्यापारीको समस्या सम्बोधन नभए समस्या थपिन सक्छ । खुला सिमानाको हर्कतले ब्यापारीलाई मात्र होईन स्वयम् उपभोक्ताहरु पनि ठगिने गरेका छन् । भारतीय बजारबाट भित्र्याईने तेलहरु ब्रानबाट बनेको र खान अयोग्य छन् । सीमावर्ती बजारहरुमा नुनदेखि सुन सम्म सबै किन्न पाईन्छ । गुणस्तरहिन खाद्यबस्तुहरुको प्रयोगले नेपाली उपभोक्ताहरु ठगिएको अवस्था रहेकाले प्रशासनले त्यसको अनुगमन गर्नुपर्ने अध्यक्ष लामिछानेले बताए ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले ब्यापारीहरुको समस्या समाधान गर्न आफूले कदम चाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । जिल्लाका सुरक्षाकर्मीहरुलाई अलर्टगर्दै भन्सार कार्यालयसँग परामर्श थाल्छौ । हामीले केन्द्रसँग पनि स्थानिय ब्यवसायीहरुको समस्याको समाधानका लागि समन्वयगर्दै कानून सम्मत के गर्न सकिन्छ त्यसतर्फ कदम चाल्छौं । प्रजिअ बास्तोलाले भने बोर्डरमा हुने आवागमन लगायत मापदण्ड अनुसारको सामान्य घरायसी सरसामान ल्याउन रोक्न पनि मिल्दैन । कसैले अनाधिकृत फाईदा लिने गरेको पाईए कानून वमोजिम कारवाही पनि गछौं उनले प्रष्ट्याए ।

भारतीय सीमावर्ती बजारहरुमा चहलपहल भएपछि स्थानिय ब्यापार ब्यवसाय सुकेको गुलरिया बजारका ब्यसायी मतिन अहमद ईद्रिसीले बताए । उनले भने हामीले सरकारलाई विभिन्न कर तिर्छौ तर ब्यापार ब्यवसाय छैन । अब त राजस्व बुझाउने जतिपनि विक्री हुँदैन । परिवार पाल्ने की, राजस्व तिर्ने की, कोठाभाडा बुझाउने ईद्रिसीले पिडा पोखे । यस्तै अवस्था रही रहे हामीले ब्यापार ब्यवसाय छोड्नु पर्ने बाध्यता छ । सरकारले समस्याको समाधान गर्नु पर्यो । होईन भने हामी ब्यापारमा ताला लगाएर आन्दोलनमा उत्रिन्छौं ईद्रिसीले आक्रोष पोखे । चाडपर्वमा पनि कहिले काँही त बोहोनी सम्म नहुने पिडा उनले सुनाए । साभार : अन्नपुर्ण पोस्ट्बाट ।

तपाइको मत