सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको आग्रह
- बुधबार भदौ २२ , २०७९
भिमा कंडेल, बर्दिया । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले सेवाग्राहीलाई गुनासो नआउने गरी कार्यसम्पादन गर्न कर्मचारीहरुलाई आग्रह गर्नु भएको छ । १९ औँ निजामती सेवा दिवसको अवसरमा सम्बोधनगर्दै नगरप्रमुख लम्सालले जनताको सेवालाई सर्वोपरी मानेर स्थानिय सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न कर्मचारीलाई अनुरोध गर्नु भएको हो ।

काम गर्ने शिलसिलामा कुनै कुरामा असहज भए आफु सहित नगरपालिकाका जनप्रतिनीधिसंग खुलेर कुरा राख्न उहाँको आग्रह छ । उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्ने र गलत काम गर्ने कर्मचारीलाई दण्डीत गर्न नगरपालिका पछि नपर्ने जानकारी दिदै राष्ट्रसेवक कर्मचारीहरुलाई आफुलाई दिएको जिम्मेवारी समयमै सम्पन्नगर्दै उत्कृष्ट राष्ट्रसेवक बन्न शुभकामना दिनुभयो । दिवसकै अवसरमा ठाकुरबाबा नगरपालिकाले विभिन्न संघ संस्थाको सहकार्यमा सरसफाई गरेको छ ।

दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाका तीन जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ । ठाकुरबाबा नगरपालिका योजना तथा प्रशासन शाखामा कार्यरत कम्प्युटर अपरेटर राजन श्रेष्ठ, कृषि सेवा केन्द्र बगनाहाका प्रमुख विरेन्द्र रावत र वडा नम्बर ५ वडा सचिव रुविना चौधरीलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले कर्मचारीको रचनात्मक कार्यमा मनोबल बढाउन कर्मचारी स्तरीय फुटबल प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरेको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामहरी रिजालले बताउनु भयो । व्यवसायिक र सृजनशिल प्रशासन : विकास समृद्धी र सुशासन भन्ने मुल नाराका साथ बुधबार १९ औँ निजामती सेवा दिवस मनाइएको रिजालको भनाई छ । कार्यक्रममा नगर उपप्रमुख विना कुमारी भट्टराईको विशिष्ठ आतिथ्यता रहेको थियो ।
