बर्दियाका दशगजामा लागुऔषको बिगबिगी
- बुधबार भदौ २२ , २०७९
यादव आचार्य, गुलरिया । बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २ निवासी नविन थापा र सन्देश खत्री साउन २६ गते बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर २ फुटाहा स्थित दशगजा क्षेत्रबाट लागुऔषध सहित समातिए । बढैयाताल प्रहरीले उनीहरुको साथबाट १ ग्राम १ सय ८० मिलिग्राम ब्राउनसुगर बरामद गर्यो ।
तिन दिनपछि सोही स्थानबाट बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर १५ निवासी मनसुख लाल थारु र अरविन थारुलाई ५ ग्राम १ सय ३० मिलिग्राम लागुऔषध व्राउन सुगरसहित नियन्त्रणमा लिएका छौं । उनीहरुको साथबाट बजाज कम्पनीको पल्सर मोटर साईकल र दुई थान मोवाईल सेट बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक हृदेशकुमार सापकोटाले बताए । पछिल्लो समय निरन्तर रुपमा हामीले लागुऔषध उद्योगमा संलग्न युवाहरुलाई नियन्त्रणमा लिन सफल भएका छौं ।
मधुवन नगरपालिका वडा नम्वर ७ स्थित तारातालको खाली चौरबाट स्थानिय पवन महत, सुदिप थिङ र पासाङ तामाङलाई साउन २८ गते नियन्त्रणमा लिई उनीहरुको साथबाट २ सय ५० मिलिग्राम ब्राउनसुगर बरामद गर्यौं । एकसाता अघि सोही वडा स्थित भगरैया टोलबाट बाट ८ सय ६० मिलिग्राम ब्राउनसुगर सहित ३६ बर्षिय पप्पु खाम्चालाई नियन्त्रण लिएका थियौं । उनले भने बर्दिया जिल्ला खुला सिमावर्ती क्षेत्र भएका कारणपनि लागुऔषधको कारोबार बढेको देखिन्छ ।
लागुऔषधको कसुरमा गुलरिया नगरपालिका वडा नम्वर १२ स्थित मनैया सामुदायिक वनमा लागु औषधको कारोवार भैरहेको सूचनाको आधारमा हाम्रो टोलीले स्थानिय राकेश श्रीवास्तव र नुरुद्दिन गद्दीलाई ४ सय ९० मिग्रा ब्राउन सुगरसहित नियन्त्रणमा लिएका छौं । उनीहरुको साथबाट १ थान मोटरसाईकल र मोवाईल सेट बरामद भएको छ । लागुऔषध कारोबारमा समातिएकालाई लागुऔषध सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए ।
बर्दियामा लागुऔषध ग्राफ केलाउँदा चालु बर्षको साउन महिनामा मात्र लागुऔषध कसुरमा १० ओटा मुद्धा दर्तागरी २० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक वीरेन्द्र बहादुर शाहीले बताए । जिल्लामा ०७६ साल श्रावण महिनादेखि ०७९ साल असार मसान्त सम्म लागुऔषध उद्योगमा ९८ वटा मुद्धा दर्ता भएका छन् । मुद्धा लागेका मध्ये चालु श्रावण मसान्त सम्म १ सय ६३ जनालाई पक्राउ गरिएको छ । जसमा १० जना महिला र १ सय ५३ जना पुरुष छन् । एसपी शाहीले भने सबैलाई लागुऔषध कसुरको मुद्धामा अनुसन्धान भैरहेको छ ।
युवाहरुलाई लागुऔषधको कुलतमा पर्न नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालयहरुमा सचेतना, अन्र्तक्रिया लगायत छलफल जस्ता कार्यक्रमहरु संचालनगर्दै आएका छौं । कुलतमा फसेका युवा तथा लागुऔषधका कारोबारीहरुलाई निगरानीमा राखी पक्राउ गर्ने कार्यलाई थप प्रभावकारी बनाएका छौं । युवाहरुलाई कुलतबाट मुक्तगर्न सुधारगृहमा पनि पठाउने गरेको सुनाउँदै एसपी शाहीले थपे ओसार पसारमा संलग्न ब्यक्तीलाई कडा निगरानीमा राखेका छौं । १६ बर्ष देखि ३० बर्ष उमेर समूहका युवाहरु लागुऔषधको कुलतमा बढी पर्छन् । बेरोजगारी, साथीसँगीको लहलहै, विभिन्न प्रलोभन, पारिवारिक किचलो, फ्रस्टेशन लगायत सामाजिक सञ्जालको प्रभावमा परेर युवाहरु लागुऔषधको कुलतमा फस्ने गरेको हाम्रो प्रारम्भिक अनुमान छ ।
धनी, मध्यम तथा गरीब तिनै परिवारका युवाहरु लागुऔषधको कुलतबाट अछुतो छैनन् । यसको दीगो नियन्त्रणको लागि परिवारको मुख्य भुमिका हुने गरेको उनले बताए । बच्चाको आनीवानी, साथीसंगत र उसले गर्ने ब्यवहार परिवारले बुझ्नु जरुरी हुन्छ । आफ्ना सन्तानको शुरुमै सुधार गर्न सक्नुपर्छ । कुलतमा लाग्न दिनुहुँदैन । यदि कुलतमा परेको शंका लागेमा राज्यका निकायहरुमा समन्वय गर्नुपर्छ । लागुऔषध सीमापारीबाटै भित्रिने भएकाले दशगजा क्षेत्रमै ब्यवसायी र सेवाग्राहीले कारोबार गर्ने गरेको उनले प्रष्ट्याए ।
प्रहरीले शंका, सुराकी र चेकजाँचका आधारमा अपराधमा संलग्न भएका ब्यक्तीहरुलाई नियन्त्रणमा लिने गरेको छ । लागुऔषधको लतले कलिला युवाहरुको भविष्य चौपट पारेको छ । खुला सीमानाका कारण सीमाक्षेत्रमा आपराधिक कृयाकलाप हुने गर्छन् । लागुऔषध ऐन २०३३ अनुसार यसको उत्पादन, विक्रीवितरण वा प्रयोग जस्ता विभिन्न कसुरहरुमा अलग अगल सजायको कानूनी प्रावधान छ । लागुऔषध ऐन २०३३ को परिच्छेद ३ दफा १४ को (ङ) वमोजिम अफिम, कोका वा सोबाट बनेको लागुऔषधको सेवन गर्ने ब्यक्तीलाई एकबर्ष सम्म कैद वा १० हजार रुपैया सम्म जरिवाना हुने प्रावधान रहेको बताए ।
साभार : अन्नपूर्ण पोस्ट् दैनिक ।