बाघ बढ्दा समुदायमा चिन्ता
- बुधबार भदौ २२ , २०७९
यादव आचार्य, गुलरिया । नेपालमा पाटेबाघको संख्या बढेको छ । बाघ बढेसँगै समुदायमा चिन्ता थपिएको छ । पछिल्लो बाघ गणनाको नतिजा अनुसार पाटेबाघको संख्या दोब्बर नाघेको हो । विश्वबाटै बाघ लोपहुने आशंकाले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाईने देशहरुले गरेको प्रतिवद्धता अनुरुप नेपालले शुरु गरेको बाघ संरक्षण कार्यले सन् २०२२ मा लक्ष्य पुरा गरेको छ ।
विश्व वाघ दिवसको अवसर पारेर काठमांडौमा बाघ गणनाको नतिजा सार्वजनिक गरिएको छ । बाघ गणनाको नतिजा अनुसार चितवनमा १२८, बर्दियामा १२५, पर्सा ४१, शुक्ला ३६ र बाँकेमा २५ वटा गरी ३५५ वटा पाटेबाघ पुगेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय गुलरिया बर्दियाका संरक्षण अधिकृत विनयकुमार झाले बताए । अघिल्लो गणनाको तुलनामा नेपालमा १२० वटा पाटे बाघ बढेको छ । बाघ संरक्षणको प्रतिवद्धता गर्दा सन् २०१० मा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२२ को गणनामा दोब्बर बढाउने लक्ष्य भन्दा ११३ वटा बाघ बढी छन् । सन् २०१८ को तुलनामा चितवनमा ३५, बर्दियामा ३८, पर्सा २३, शुक्ला २० र बाँके राष्ट्रिय निकुञ्जमा ४ ओटा पाटेबाघ बढेका हुन् ।
बासस्थान ब्यवस्थापन, उल्लेख्य आहारा प्रजाती, चोरी शिकार नियन्त्रण र बाघ संरक्षणमा समुदायको सहकार्यले गर्दा बाघको संख्यामा बृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । निकुञ्जमा बनमारा नियन्त्रण, पानी पोखरी निर्माणका कारण बाघका आहारा प्रजाती बृद्धि भएसँगै बाघको संख्यापनि बढेको हो । सरकारले मानव–बाघ द्वन्द घटाउन जिविकोपार्जन सम्वन्धी कार्यक्रम शुरु गर्न लागेको उनले प्रष्टपारे । कार्यक्रम मार्फत जंगलमा हुने समुदायको परनिर्भरता घटाउने हाम्रो लक्ष्य छ । जिविकोपार्जन कार्यक्रमले द्वन्द घटाउने विस्वास निकुञ्जको छ ।
बाघको संख्या बढेपछि स्थानिय समुदायहरु त्रसित बन्न थालेका छन् । बाघले आक्रमण गर्ने क्रम नरोकिँदा स्थानियहरु त्रसित बनेका हुन् । बाघबाट हुने आक्रमण रोक्नुपर्ने समुदायको माग छ । बर्दियामा बाघको आक्रमणका कारण धेरैले ज्यान गुमाएका छन् । बाघ बढ्दा संरक्षणकर्मीहरुमा उत्साह थपिएपनि समुदाय स्तरमा चिन्ता बढेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताए । मानव–बाघ बिचकोद्वन्द निरुपण गर्न सरकारले यथशिघ्र ब्यवस्थापन कार्यलाई महत्व दिनुपर्छ । उनले भने समुदायलाई जिविकोपार्जनको कार्यक्रमहरु मार्फत योजना बनाई दीर्घकालिन रुपमा मानव–बाघ बिचको सहअस्तित्व कायम गराउनु पर्छ । द्वन्द ब्यवस्थापन गर्नसके बाघ संरक्षण कार्यबाट समुदायले लाभ लिन सक्ने आचार्यको भनाई छ ।
बाघभन्दा धेरै मान्छेकै मृत्यु
सन् २०१८ देखि ०२२ सम्मको अवधिमा बर्दियामा बाघ भन्दा बढी मानिसहरु मृत्यु बरण गरेका छन् । बर्दियामा यस पटक ३८ वटा बाघ बढेका छन् । सोही अवधिमा बाघको आक्रमणबाट ३० जना मानिस र मानविय कारणबाट ११ वटा बाघ मरेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका प्रमुख डाक्टर रविन कडरियाले बताए । दाङदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सम्म ति बाघहरु मारिएका हुन् ।
कडरियायाले थपे ५ बर्षको अवधिमा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा विद्युतीय धराप र एउटा पासोमा परी २ वटा बाघ मरेका छन् । टिकापुरमा एउटा बाघ पासोमा परेर मरेको छ । बर्दिया निकुञ्जमा २ वटा बाघ गाडीको ठक्करबाट मरेका छन् । दाङमा छालासहित १ बाघ मरेको भेटिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकामा एउटा छालासहित भेटिएको र कम्दी करिडोरमा विष हालेर एउटा बाघ मारिएको छ । धनगढीमा छालासहित एउटा बाघ फेला परेको छ भने शुक्लाफाँटामा एउटा पासोमा र एउटा बाघ मृत फेला परेको उनले जानकारी दिए । कडरियाका अनुसार बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १३ जना मानिसले ज्यान गुमाएका छन् । मधुवनको खाता जैविकमार्गमा ९ जनाले ज्यान गुमाएका हुन् । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३ जना, बाँकेको कम्दी जैविक मार्गमा १ जना र कैलालीमा १ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएको डाक्टर कडरियाले बताए ।
बाघ नेपालको सम्पत्ती भएकाले यसको दीघो संरक्षण गर्नुपर्ने बारबर्दिया नगरपालिकाका निवर्तमान नगर प्रमुख दुर्गाबहादुर थारुले प्रष्ट्याए । उनले भने मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने सबै समुदाय मिलेर बाघको संरक्षण गर्नुपर्छ । बाघलाई हिंस्रक बन्न नदिन मानव स्वभाव र गतिविधि नियन्त्रण गर्न आवस्यक छ । बाघ हिंस्रक बन्ने वित्तिकै नियन्त्रणमा लिई ब्यवस्थापन गर्न सके बाघको बानी सुधार्न सकिने थारुको भनाई छ । बाघले मानव र मानवले बाघलाई हानी नपुर्याउने वातावरण बनाउन सके दीगो बाघ संरक्षणमा टेबा पुग्ने बताए । बाघ संरक्षणका लागि केन्द्रिय, प्रदेस र स्थानिय तिनै तहका सरकारले पहल गर्नुपर्ने बढैयाताल निवासी समाजसेवी मीना थापाले बताईन् । विगतमा बाघले धेरै जनधनको क्षती गरेको छ । मान्छे र बाघ दुवैको बाँच्न पाउने अधिकार रक्षा गर्नुपर्छ । बाघ संरक्षणमा सरकारबाट लापरवाही हुने गरेकाले मानव–बाघ विच दीगो सहअस्तित्व कायम गराउन सरकारले नै पहल गर्नुपर्ने समाजसेवी थापाको भनाई छ ।