स्थानीय तहसँग परिपुरणको ब्यवस्था गर्न द्वन्द्व पीडितको माग
- बुधबार भदौ २२ , २०७९
मानबहादुर चौधरी, बर्दिया । १२ औ अन्तर्राष्ट्रिय बलपूर्वक वेपत्ता पारिएको पीडितहरुको दिवसको अवसरमा मंगलबार बढैयाताल गाउँपालिकामा आयोजित कार्यक्रममा द्वन्द्व पीडितहरुले स्थानीय सरकारले पीडित परिवारलाई परिपुरणको ब्यवस्था गर्न माग गरेका छन् । उनीहरुले पालिकालाई मागपत्र पेशगर्दै परिपुरणको ब्यवस्था गर्न आग्रह गरेका छन् ।
प्रमुख अतिथी बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीलाई लिखित रुपमा माग पत्र पेशगर्दै परिपुरणको ब्यवस्था गर्न पिडितहरुले माग गर्नु भएको छ । द्वन्द्व पीडित सञ्जाल बढैयातालकी अध्यक्ष योजना चौधरीले सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएका ब्यक्तिको छनविन आयोग र हत्या, यातना लगायत घटनाको छानविन गर्न बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगले तोकिएको समयमा काम सम्पन्न गर्ने देखिएको छैन । तर पीडितहरुको जीविका चलाउन, स्वास्थ्य उपचार, बालबालिकाको शिक्षा, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा जटिल समस्या भोग्नु परिरहेकोले स्थानीय सरकारले आफ्नो पालिकामा रहेको पीडित परिवारलाई परिपुरणको ब्यवस्था गर्न माग गरिएको बताउनु भयो ।
बढैयाताल गाउँपालिका क्षेत्रका द्वन्द्व पीडित परिवारका बालबालिकाहरु शिक्षा लिन पाउने अधिकारलाई सुनिश्चित गर्न निति र कार्ययोजना (छात्रबृत्ति) सहित बजेट ब्यवस्था गरिनु पर्ने मागपत्रमा उल्लेख गरिएको छ । द्वन्द्व पीडित परिवारलाई आवश्यकता र मागमा आधारित सीपमुलक निःशुल्क तालिम ब्यवस्था गरिनु पर्ने, पीडित परिवारलाई सीपको दक्षता अनुसार सम्बन्धीत क्षेत्रमा रोजगारीको ब्यवस्था गरिनु पर्ने, स्वास्थ्य विमा निःशुल्क गरिनु पर्ने, विभिन्न सीप बिकासको लागि तालिममा पहिलो प्राथमिकतामा द्वन्द्व पीडित परिवालाई राखिनु पर्ने, द्वन्द्व पीडित परिवारलाई छुट्टै लक्षित समुहको रुपमा निर्णय गरी आवश्यक कार्यक्रम बनाएर पीडित परिवारहरुसंग सहकार्य गरी कार्यान्वयन गरिनु पर्ने, द्वन्द्व पीडित परिवारका लागि निःशुल्क मनोसामाजिक मनोविमर्श सेवाको ब्यवस्था गरिनु पर्ने माग छन् ।
द्वन्द्व पीडितहरुको अभिलेख संकलन गरी किताबको रुपमा दस्तावेजिकरण, पीडितहरुको सम्मानका लागि वाँके जिल्लासंग सीमा जोडिएको बढैयाताल गाउँपालिका ३ मानझुण्डि सामुदायीक वनको मानखोला किनार नेपालगंज गुलरिया हुलाकी राजमार्गमा सहिद वेपत्ता गेट, र स्तम्भ निमार्ण, द्वन्द्व पीडितहरुको सम्मानका लागि स्मृति पार्क, बाटो, सार्वजनिक स्थल निमार्ण गरिनु पर्ने पिडितहरुका माग छन् । प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष त्रिपाठीले देशको ब्यबस्था बदलियो, कानुन बदलियो, देशमा धेरै परिवर्तन भए तर द्वन्द्व पीडितहरुको अवस्था नबदलिएको बताउनु भएको छ ।
पिडितहरुको सवाल प्रति राज्य गम्भिर हुन नसकेको भन्दै बढैयाताल गाउँ पालिकाको नीति तथा कार्यक्रममा धेरै मागहरुको सम्बोधन हुनेभन्दै द्वन्द्व पीडितका बालबालिका कुनै पनि बाहानामा शिक्षावाट बञ्चित हुन नपर्ने स्थानिय सरकार सञ्चालन ऐनको अधिनमा रही मागको सम्बोधन गर्ने बताउनु भयो । निःशुल्क स्वास्थ्य विमा सहित अन्य मागको सम्बन्धमा पनि योजना बनाएर काम गर्ने प्रतिबद्धता गर्नु भयो । द्वन्द्वको सम्मानका लागि वेपत्ता तथा मृतकको अर्धकद सहितको सालिक निमार्ण गर्न छलफल अगाडी बढिसकेको पनि बताउनु भयो । सोहि अवसरमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले द्वन्द्व पीडित परिवारमा सबै भन्दा बढि महिला तथा बालबालिकालाई हरेक किसिमको समस्या भोग्नु परिरहेकोले त्यसलाई मध्यनजर गरी पालिका मार्फत योजना बनाएर काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
बढैयाताल गाउँपालिका ९ का बेपत्ता पारीएका नारायण सापकोटाकी पत्नि जुना सापकोटाले बेपत्ता भन्दै फोटो लिएर कहिलेसम्म हिड्ने ? प्रश्न गर्नुभयो । पति बेपत्ता पारिएको १९ वर्ष भयो । राज्यले नत बेपत्ता परिवार भनेर क्षतीपुर्ति दिएको छ । न एकल महिलाको सुबिधा दिएको छ । स्थानिय सरकारले पीडितहरुलाई परिपुणको ब्यवस्था गरी जीवन जीउन सहजता बनाउन पर्नेमा उहाँको जोड छ । मानब अधिकारकर्मी शुसिल चौधरीद्वारा सहजिकरण गरिएको अन्तरक्रिया कार्यक्रममा राजनितिक दल र अन्य सरोकारवालाहरुले द्वन्द्व पीडितको सवाल गम्भिर भएको भन्दै उनीहरुको सवालको वारेमा स्थानिय सरकारले पनि नीति तथा कार्यक्रम बनाएर सम्बोधन गर्नु पर्नेमा दिनु भएको छ ।
पिडितहरुको माग प्रति बढैयातालका राजनितिक दल र स्थानिय सरकारको ध्यानाकषर्ण भएको भन्दै साथ र सहयोग रहने प्रतिबद्धता गर्नुभयो । शसस्त्र द्वन्दका क्रममा बढैयाताल गाउँपालिकामा ८ जना बेपत्ता र ४१ जनाको मृत्यु भएको थियो । बढैयाताल गाउँपालिकाको समन्वयमा इन्सेक बर्दिया, टि.पी.ओ. नेपाल, नेपाल रेडक्रस सोसाईटी शाखा बर्दिया द्वन्द्व पीडित समिति बर्दियाको सहकार्यमा कार्यक्रम भएको थियो । बर्दिया जिल्लाको बढैयाताताल गाउँपालिका सहित अन्य आठ वटै स्थानीय तहमा पीडित र सरोकारवालाहरुको सहभागितामा अन्तरक्रिया तथा दिप प्रज्वलन गरि दिवस मनाएको छ ।