fbpx

सीमावर्ती बजारबाट सामान आयात रोक्न ब्यवसायीको माग

सीमावर्ती बजारबाट सामान आयात रोक्न ब्यवसायीको माग


चुरेकुञ्ज, गुलरिया । उद्योग बाणिज्य संघ बर्दियाले नेपाल–भारत सीमाबाट निर्वाध रुपमा नेपाल तर्फ भित्र्याईने सरसामानको आयातमा कडाई गर्न जिल्ला प्रशासन कार्यालय बर्दियालाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ । आयात रोकी ब्यापारीको समस्या समाधान गर्न जिल्लाका ८ वटै उद्योग बाणिज्य संघले संयुक्त रुपमा प्रशासनलाई विज्ञप्ती बुझाएका हुन् ।

बर्दियाको सीमासँग जोडीएका भारतको लौकाही बजार, चितलहवा, बठनिया तथा तिकुनिया बजारमा दैनिक उपभोग्य सामाग्री खरिद गर्न नेपालीहरु जाने गरेकोले नेपाली बजार सुक्दै गएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । बर्दियाका पालिकाहरुका बजारमा तिज, दशै, तिहार लगायतका चाडपर्वमा समेत ब्यापार ब्यवसाय ठप्प हुने गरी भारतीय बजारमा किनमेल हुन थालेपछि जिल्लाका ब्यापारी तथा ब्यवसायीहरु मर्कामा परेको उद्योग बाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष देबेन्द्र पाण्डेले प्रमुख जिल्ला अधिकारीलाई विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।

सीमावर्ती भारतीय बजारका कारण नेपालको राजस्व छली भई चुहावट भएकोले छोटी भन्सार कार्यालय स्थापना गर्नुपर्ने ब्यवसायीको माग छ । दीर्घकालिन समस्याको समाधान गर्न योजना तयार गरी अबैध आयातलाई निरुत्साहनगर्दै समिानामा कडाई र भन्सार कार्यालय अविलम्ब स्थापनाको माग गर्दछौ ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यदि ब्यापारीहरुका मागहरु अबिलम्ब पुरा नभए जिल्ला स्थित सम्पूर्ण उद्योग बाणिज्यहरुको पहलमा बजार बन्द गरी क्रमागत आन्दोलनमा जान बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा उद्योग बाणिज्य संघ बढैयाताल, मधुवन, बर्दिया राजापुर, बाँसगढी, बारबर्दिया, ठाकुरबाबा गेरुवा र गुलरियाका अध्यक्षहरुको संयुक्त हस्ताक्षर तथा उपस्थितीमा ज्ञापन पत्र वुझाईएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले ब्यापारीहरुको समस्या समाधान गर्न आफूले कदम चाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । जिल्लाका सुरक्षाकर्मीहरुलाई अलर्टगर्दै भन्सार कार्यालयसँग परामर्श थालिने उहाँले बताउनु भयो ।

तपाइको मत