fbpx

आम्दानीको श्रोतबन्दै सत्खलुवा होमस्टे

आम्दानीको श्रोतबन्दै सत्खलुवा होमस्टे

यादव आचार्य, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्वर ९ खैरेनीकी सीतादेवी अधिकारी होमस्टे संचालन गर्न पाएकोमा खुशीछिन् । विहान, वेलुका पाहुनाको रोजाई अनुसारको खाना खुवाउने अनि दिन भरीको घरधन्दा उनको दिनचर्या बनेको छ । परम्परागत खेती र दुई चार गोटा बाख्रा पालन गरेर जिविकोपार्जन गर्दै आएकी अधिकारीले समुदायको पहलमा सामुदायिक बन तथा प्राकृतिक स्थानिय सत्खलुवा ताल संरक्षणमा जुटेपछि पर्यटकहरु बढेको सुनाईन् । पाहुनाहरु आउनथालेपछि यतिखेर सत्खलुवा होमस्टे स्थानियको आम्दानीको श्रोत बनेको छ ।
कोभिड महामारीका बेला पर्यापर्यटन थलिएपनि बारबर्दिया नगरपालिका अन्र्तगत सामुदायिक बनक्षेत्रमा रहेको प्राकृतिक सत्खलुवा ताल अवलोकन गर्न पर्यटकहरु आउने क्रम बढेको छ । हामीले सत्खलुवा होमस्टे संचालनमा ल्याएपछि पाहुनाहरु आउने क्रम बढेको छ । सीतादेवीले भनिन् देशका विभिन्न स्थानबाट आउने नयाँ नयाँ पाहुनासँग भेटहुन पाउँदा खुशी लाग्छ । शुरु शुरुमा कस्तो हुने हो भन्ने डर लाग्थ्यो । अचेल खेतीपाती र बाख्रापाल्न छाडेर होमस्टे संचालन गरेकी छु ।
पर्यटकहरु होमस्टेमा रात विताउन थालेपछि आयआर्जन बढेको छ । उनले थपिन् होमस्टेको आम्दानीबाट राम्रैसँग घरखर्च टरेको छ । होमस्टेको गास र वास होटलहरुको भन्दा सस्तो छ । मितब्ययिता र जैविक, घरको जस्तै खानपान हुने भएकाले पनि पर्यटकहरु होमस्टे मन पराउँछन् । सत्खलुवा होमस्टेको आफ्नै विशेषता छ । वाहुन, गुरु®, मगर जातीले संचालन गरेको होमस्टेमा जातिय विविधताको अलौकिक मिश्रण रहेको पाईन्छ । परिकार, भेषभुषा लगायत फरक आतिथ्यता सत्खलुवा होमस्टेको विशेषता रहेको पाईन्छ । खैरेनीमा २० जनाले सत्खलुवा होमस्टे संचालन गरेका छन् । पर्यटनको चाँप बढेसँगै निकट भविष्यमा होमस्टे थप्ने तयारी भैरहेको उनको भनाई छ ।
मकवानपुरको हेटौंडाबाट सत्खलुवा ताल घुम्न आएकी पर्यटक नयन्सी उपाध्याय सत्खलुवा होमस्टेको आतिथ्यताबाट मुग्ध भएको वताउँछिन् । होमस्टेले गरेको स्वागत, खुवाएको खाना धेरै राम्रो लाग्यो । उनले भनिन् प्राकृतिक सत्खलुवा तालको सुन्दरता अनुपम छ । वन्यजन्तु लगायत पंक्षी अवलोकनगर्दै तालमा डुँगा शएर गर्दा फेवाताल विर्सायो । सत्खलुवा क्षेत्रलाई स्थानियले थप पहलगर्दै अझै ब्यवस्थित गर्न सके पश्चिम क्षेत्रकै राम्रो पर्यटकिय गन्तब्य बन्न सक्छ ।
सत्खलुवा सिमसार क्षेत्र पर्यटकिय दृष्टिकोणले रमणिय छ । ताल वरपर बाघ लगायतका बन्यजन्तु, पंक्षी प्रजाती, जलचर, थलचर, उभयचर, सरीसीर्प प्रजाती देख्न पाईने सत्खलुवा ताल ब्यवस्थापन समितिका पूर्व अध्यक्ष सुनिल चापागाइँले बताए । सत्खलुवा क्षेत्रमा पर्यटकको आवागमन बढ्दो छ तर पर्यटकको लागि पूर्वाधारहरुको कमी छ । ताल क्षेत्रमा खानेपानी, सडक, पिकनिक स्पोर्ट लगायतका भौतिक पूर्वाधारहरु अभाव छ । सामुदायिक वन समुदाय लगायतको पहलमा सत्खलुवा क्षेत्र पर्यटकिय क्षेत्रको रुपमा अघि बढ्दै छ ।
उनले थपे स्थानिय सरकारले ताल क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता गरेको छ । केही समय पछि सत्खलुवा क्षेत्र अब्बल पर्यटकिय गन्तब्य बनाउने समुदायको लक्ष्य छ । प्राकृतिक सत्खलुवा ताल ६० विगाहा क्षेत्रफलमा फैलिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडीएको ताल जंगली जनावरका लागि पानीको श्रोत हो । तालमा हात्ती, गैंडा, बाघ लगायतका बन्यजन्तुहरु पानीका लागि आउने हुनाले पनि पर्यटकहरु सजिलै बन्यजन्तुको अवलोकन गर्न पाउँछन् ।
सत्खलुवा ताल अवलोकनका लागि प्रशस्त पर्यटकहरु आउँछन् । तालमा डुँगा चढ्छन् । उनीहरुलाई लाईफ ज्याकेटको ब्यवस्था छैन तालका डुँगा चालक राजु चौधरीले भने । डुँगा चढ्ने पर्यटकले लाईसेन्स छ कि छैन, तालिम लिएको होकी होईन लगायतका प्रश्नहरु गर्छन् । हामीलाई जवाफ दिन मुस्किल पर्छ । डुँगाहरु पनि पुराना भैसकेका छन् । काठका पुराना डुँगा चलाएको केही छिनमै पानी भरिन्छ अनि फाल्नुपर्ने उनको चिन्ता छ । डुँगाहरुको ब्यवस्थापनगर्दै लाईफ ज्याकेटहरुको ब्यवस्थापन तत्काल गर्नुपर्ने आवस्यकता रहेको चौधरीको भनाई छ ।

तपाइको मत