fbpx

मानव–बाघ द्वन्दको कारण : बाघ–बाघबिच बिग्रेको स्वरुप

मानव–बाघ द्वन्दको कारण : बाघ–बाघबिच बिग्रेको स्वरुप


रमेश थापा । बर्दिया लगायत तराईका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, संरक्षित क्षेत्रसंग जोडिएका जैविक मार्ग, सामुदायिक र राष्ट्रिय वन क्षेत्र समेत बाघले आफ्नो वासस्थानको रुपमा प्रयोग गरिरहेको तथ्य हालै सार्वजनिक भएको तथ्याङ्कले पुष्टि गरेको छ । तथ्याङ्कले नेपालमा पाटे बाघको संख्या ३५५ पुगेको अनुमान छ । सन् २०१० मा नेपालमा पाटे बाघको संख्या १२१ थियो । बाघ संरक्षणको क्षेत्रमा नेपालले प्राप्त गरेको अभूतपूर्व सफलता देखेर विश्व चकित छ । वास्तवमा नेपालले अन्तराष्ट्रिय समुदाय समक्ष गरेको प्रतिवद्धता इमान्दारीपूर्वक पुरा गरेर नेपालको शिर ठाडो बनाएको छ । आज संसार भरका बैज्ञानिक, संरक्षणकर्मी र संचार जगतले नेपालको मुक्त कण्ठले प्रसंसा गरिरहेका छन ।

नेपालले विश्वसामु प्रस्तुत गरेको यो सफलताका लागि सारा संसार हाम्रो सामु नतमस्तक भएर उभिएको छ । यो हाम्रो लागि गौरवको कुरा हो । तर यो सफलता भित्र हाम्रा धेरै कथा व्यथाहरु लुकेका छन । वास्तवमा यो सफलता हाशिल गर्न नेपालले अतुलनिय मूल्य चुकाएको छ । त्यो मूल्य भित्र मानव जीवनको अपूरणीय क्षतिको अंश सबै भन्दा धेरै छ । वास्तवमा मानव जीवनको कुनै मूल्यसंग तुलना हुनै सक्दैन । बाघ संरक्षणको इतिहासमा यो सफलताको कथा लेख्नका लागि हामिले गरेको यस्तो अतुलनीय त्याग र बलिदानको अन्तराष्ट्रिय स्तरमा एउटा अध्याय लेखिनु पर्दछ । नेपाललाई सन् २०२२ सम्म बाघको संख्या बृद्धि गरेर २५० पुर्याउनुपर्ने चुनौति थियो ।

बाघको संख्या ३५५ पुर्याएर त्यो चुनौतिलाई मात दिन हामी सफल भएका छौं । अब हाम्रो सामु बढेका बाघ र मानिस बीच कसरी सहअस्तित्व कायम गर्ने भन्ने चुनौति थपिएको छ । बर्दियाको कुरा गर्दा बाघ र मानव बीचको द्वन्दका घटना बढीरहेका छन । मिति २०७६।९।१७ मा सुर्खेत जिल्लामा पर्ने बाहताल वडा नं. ३ लेखगाउँमा घटेको घटना र मिति २०७९।४।२९ गते सुर्खेत जिल्ला भेरिगंगा नगरपालिका वडा नं. ५ गेरुवानीमा घटेको घटना बाहेक हालसम्म घटेका अधिकांस मानव–बाघ द्वन्दका घटना तल्लो तटीय मैदानी भागमा सिमित थिए । अब बिस्तारै बाघको गतिबिधि र मानव–बाघ द्वन्दका घटनाहरु पहाडि भू–भाग तर्फ पनि देखिन थालेका छन ।

द्वन्दको मुख्य कारण पानी हुनसक्दछ

बाघहरु मुख्य रुपमा आहारा, पानी र वासस्थानको त्रिबेणीमा रमाएका हुन्छन । यि तीन मध्ये कुनै एउटा चिज बिग्रियो वा असन्तुलित भयो भने यसले बाघको जीवनमा नया चुनौति खडा गर्न सक्दछ ।जलवायु परिवर्तनको कारणले हरेक बर्ष अत्यधिक गर्मी बढेको हुँदा तराईको गर्मी सहन नसकेर बाघ क्रमशः पहाडतिर उक्लिनुपर्ने अवस्था आएको हो कि ? यो छुट्टै अध्ययनको बिषय बन्न सक्दछ । सन् २०२२ मा गरिएको बाघ गणनाको डाटा बिश्लेषण गर्ने हो भने यस्ले पनि एउटा संकेत दिनसक्दछ । बाघले सफा र बग्ने पानी पिउने र सफा पानीमा नै आहाल बस्ने भएकोले बाघको वासस्थानमा नियमित रुपमा बग्ने सफा पानी हुने गर्दछ । गर्मी बढेसंगै बाघहरु हिलो रहित पानीमा आहाल बसेको अवस्थामा भेटिने गर्दछन ।

नियमित पानी भैरहने नदीको भंगालो, खोला, मुल, ताल, पोखरीहरुमा पानी सुकेको अवस्थामा बाघलाई आहाल बस्न र पिउनका लागि पानीको अभाव हुन्छ । यस्तो अवस्थामा पानीको खोजिमा भौतारिंदै बाघ गाउँ किनाराका खोला र कुलाहरुसम्म धाउन बाध्य हुन्छ । यसरी धाउने क्रममा अर्को बाघको क्षेत्र (टेरिटोरी) नाघेर जानुपर्ने पनि हुनसक्छ । यदि अर्को बाघको क्षेत्र नाघेर हिंड्नु पर्ने अवस्था आयो भने त्यहाँ बाघहरुका बीच लडाई र द्वन्द हुन्छ । त्यो द्वन्दको स्वरुप बिग्रिंदै मानिस र बाघ बीचको द्वन्दमा परिणत हुन्छ । किनकि हरुवा बाघ जितेका बाघको क्षेत्रमा एकछिन पनि टिक्न सक्दैन र उ ज्यान बचाउनका लागि त्यहाँबाट पलायन हुनै पर्दछ । पलायन हुने क्रममा भाग्दै भाग्दै गाउँबस्ति आसपासको जंगल किनारामा पुगेपछि उसको यात्रा रोकिन्छ र त्यहिं लुकेर बस्न थाल्दछ ।

आपसमा लडाई गर्दा बलियो बाघले हानेको चोट र घाउले गर्दा घाइते पनि भएको हुनसक्दछ । एक त बाघहरु बीच एक आपसको लडाईमा नंग्रा भाँचिने, घाउ चोट लाग्ने भएमा त्यस्तो घाउ पनि सजिलै निको हुँदैन र त्यस्तो घाउ भएको बाघले पहिला जस्तो शिकार गर्न पनि सक्दैन । अर्को कुरा गाउँबस्ति किनारमा वन्यजन्तु पनि बीच जंगलमा जस्तो धेरै संख्यामा हुँदैनन । आहाराको लागि वन्यजन्तु खोज्दै जंगलतर्फ फर्किंयोस भने बलियो बाघले पुनः आक्रमण गर्ने डरले उ सजिलो आहाराको खोजिमा रहने गर्दछ । शुरु शुरुमा घरपालुवा पशु मारेर खान थाल्दछ र यस्ता आहारा पनि पाउन छोडेपछि बिस्तारै मानिसलाई पनि आक्रमण गर्न थाल्दछ ।गाउँबस्ति नजिक बाघले घरपालुवा जनावर मारेको छ भने त्यो बाघले भविश्यमा समस्या निम्त्याउन सक्ने तर्फ सचेत हुन जरुरी छ ।

आजको आवश्यकता : मानव–बाघ द्वन्द न्यूनिकरणका लागि नियमित पानीको व्यवस्था

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको मैदानी भागमा पानीको अभाव भएका धेरै क्षेत्रहरुमा सोलार पम्प सहितका पोखरी निर्माण गरि नियमित सफा पानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ । चुरेतर्फ ठाउँ ठाउँमा पानीका मुहानहरु भएकोले त्यति ठूलो समस्या छैन ।मध्यवर्ती क्षेत्र र खाता जैविक मार्गका कतिपय बाघको वासस्थान रहेका क्षेत्रमा नियमित पानीको व्यवस्था हुन जरुरी छ । सिंचाई प्रयोजनका लागि कुलो खनेर ल्याइएको पानी बेला बेलामा सुकाउने गरिन्छ ।त्यसकारण त्यो पानीको स्रोत त्यति भरपर्दो छैन । खाता जैविक मार्गमा बाघहरु प्यास मेटाउन र आहाल बस्नका लागि ओराहि खोला र गेरुवा नदीमा निर्भर हुनुपर्दछ ।

कहिलेकाहिं एउटै पानीघाट दुइ तीनवटा बाघले प्रयोग गर्नुपर्ने बाध्यता पनि आउनसक्छ । यस्तो अवस्थामा बाघहरु बीच प्रतिष्ठाको लडाई शुरु हुन्छ । त्यो लडाइको स्वरुप बिग्रिंदै मानिस–बाध द्वन्दमा परिणत हुनपुग्दने कुराको बारेमा अगाडि नै उल्लेख भैसकेको छ । सन् २०२२ मा बाघ पाइएका क्षेत्र र त्यस क्षेत्रमा पानीको अवस्थाको बारेमा स्थलगत अध्ययन बिष्लेषण गरि नियमित पानीको अभाव रहने वासस्थानमा सोलार पम्प सहितको पोखरी निर्माण वा अन्य बैकल्पिक उपायद्वारा पानीको नियमित आपूर्ती मिलाउन सकिएमा मानव–बाघ द्वन्द न्युनिकरणमा सहयोग पुग्ने आशा गर्न सकिन्छ । यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।

रमेश थापा बर्दिया राष्ट्रिय निकुञ्जबाट सेवानिबृत्त पूर्व वार्डेन हुनुहुन्छ ।

तपाइको मत