बबई नदीमा पानीको उच्च बहाव सतर्क रहन प्रशासनको अनुरोध
- सोमबार भदौ १३ , २०७९
हरिवंश पाण्डे, बर्दिया । गए राति देखि परेको अविरल वर्षाका कारण बबई नदिनमा पानीको बहाव उच्च भएको छ । चेपाङका बबई नदी बाढी मापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी दिएको छ ।

पानी परीरहेकाले नदी बढ्ने क्रममा रहेको भन्दै प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको छ । यसबाट बबई नदीका सहायक नदीमा समेत बाढीको उच्च खतरा रहेको हुँदा नदी तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहँदै सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ ।

नदीमा बगेर आउने काठ दाउरा संकलन र माछा मार्न समेत नदीमा नजान अनुरोध गरेको छ । विषम परिस्थितिमा आइपर्ने समस्याबाट जोगिनका लागि अफ्ठेरोमा परे जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, रेडक्रस र जिल्ला आपातकालीन कार्य सञ्चालनसँग सम्पर्क गर्न अनुरोध गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
