fbpx

आगामी निर्वाचनका लागि मतदाता नामावलीमा त्रुटी सच्चाईदैं

आगामी निर्वाचनका लागि मतदाता नामावलीमा त्रुटी सच्चाईदैं


यादव आचार्य, गुलरिया । आगामी मंसिर ४ गने हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि मतदाता नामावली तयार पार्न दाबी विरोध सहित मतदाता नामावली अद्यावधिक प्रकृया शुरु गरिएको छ । भाद्र मसान्त सम्म फाईनल मतदाता नामावली ल्याउने गरी अद्यावधिक गर्ने काम शुरु गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय बर्दियाले अद्यावधिकका लागि सार्वजनिक गरेको तालिका अनुसार भदौ १२ गते कार्यक्रमको सुचनासँगै मतदाता नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकारी कृष्ण बहादुर केसी कुँवरले बताए । भदौ १३ गतेदेखि १५ गते सम्म जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा रहेका त्रुटि सच्चाउन निवेदन दिनुपर्छ । जस अन्र्तगत नामावलीमा कसैको झुठा विवरण दिई नामावली समावेश गरेको भए विरोधमा उजुरी दिन पाईने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए १ मात्र कायम गर्न निवेदन दिन सकिने छ । मतदाता नामावलीमा नाम भै मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताहरुको नाम मतदाता नामावलीबाट हटाउनको लागि सुचना दिन भदौ १३–१६ गते सम्मको समयसिमा तोकिएको कुँवरले जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक पश्चात दोहोरो नामसँगसँगै त्रुटिहरु सच्चिने विस्वास निर्वाचन कार्यालयको छ । मतदाता नामावली अद्यावधिक कार्य भाद्र १९ गते सम्म संचालन हुने जनाईएको छ । जिल्लामा ब्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बलको प्रमुख सदस्यसहित जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहेको ५ सदस्यीय मतदाता नामावली ब्यवस्थापन समिति गठन भएको छ । बर्दियामा ३ लाख १७ हजार ३६१ मतदाताहरु छन् । अद्यावधिक पश्चात केही त्रुटिगत मतदाताको संख्या घट्ने अनुमान छ । त्यस्तै जिल्लामा १ सय ५३ मतदान स्थल र ३ सय ७१ मतदान केन्द्र रहेको निर्वाचन अधिकारी कुँवरले जानकारी दिए ।

अद्यावधिक कार्यक्रम सन्दर्भमा निर्वाचन कार्यालय बर्दियाले जिल्ला स्तरिय अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्य बहादुर विष्टले मतदाता नामावलीमा मृत्यु भएका लगायत दोहोरो नामावली हटाउन राजनितिक दलले मुख्य भुमिका खेल्नुपर्ने बताएका छन् । नामावली संकलन कार्य सकिएको र अद्यावधिक कार्यमा निर्वाचन आयोगलाई दलको सहयोग अपरिहार्य रहेको प्रमुख विष्टको भनाई छ । मतदाता नामावलीमा कसैको वास्तविक वडा मिस्टेकले परिवर्तन भएको भए मिलाईदिन उनले आयोगलाई आग्रह गरेका छन् ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले राजनितिक दलहरुले कार्यकर्ताहरु परिचालन गरेर नाम कटाउने सच्चाउने कार्यमा सहयोग गर्न अनुरोध गरेका छन् । मतदाताहरुलाई निर्वाचनमा सहभागी गराउँदै सचेत पार्न दलको भुमिका महत्वपूर्ण रहने भएकाले त्यसतर्फ सचेतभै समयमै त्रुटी सच्चाउनका लागि सहयोग गर्न प्रजिअ बास्तोलाले अनुरोध गरेका छन् । त्रुटि सच्चाउन निर्वाचन कार्यालय गुलरिया बर्दियामा सम्पर्क गर्न सबै मतदातालाई उनले आग्रह गरे ।

तपाइको मत