धार्मिक कार्यमा कुश
- शुक्रबार भदौ १० , २०७९
विश्वनाथ खरेल । नेपाल धार्मिक एवं सांस्कृतिक विविधता भएको देश हो । हिन्दू शास्त्रीय विधानअनुसार प्रत्येक देवकार्य, पितृकार्य र संस्कार आदि कार्य सुसम्पन्न गर्दा कुशको आवश्यकता पर्छ । पितृ आमावास्या अथवा गोकर्णे औंसीको दिनलाई कुशे औंसी पनि भनिन्छ । यसै दिन ब्राह्मण पुरोहितका हातबाट नयाँ कुश ग्रहण गरी त्यसैले वर्षदिन भरको देव पितृ कार्यहरू सम्पन्न गरिन्छन् । त्यस दिनबाहेक ब्राह्मणहरूले अरू दिन कुश काट्दैनन् । कुश भनेको एक प्रकारको धार्मिक दृष्टिबाट पवित्र झार हो । कुश उत्पत्तिबारे विभिन्न धार्मिकशास्त्रमा आआफ्नो किसिमको मतभेद पाइन्छ ।
अतः श्रीमद्भागवत् महापुराणका अनुसार लोकरक्षक भगवान् विष्णुले पृथ्वीको उद्धारकार्य गर्न जब वराह अवतार लिनुभयो, त्यतिखेर हिरण्याक्षलाई वध गरी पृथ्वीको रक्षा गरिसकेपछि आफूलाई थकाइको अनुभव हुँदा समुद्र किनारमा विश्राम गर्नुभयो। त्यसरी विश्राम गर्दा बालुवामा झरेका भगवान्का रौंबाट कुश उत्पन्न भएको शास्त्र उल्लेख छ । यसरी कुशको विशेष सम्बन्ध पितृकार्यसँग छ । प्रत्येक वर्ष आउने भाद्र महिना कृष्णपक्षको यो औंसी तिथिलाई कुशे औंसी भनिन्छ । हाम्रा धर्म, संस्कृति, परम्पराअनुसार सम्पूर्ण शुभ कार्य, शुभसंस्कारहरूमा चाहिने पवित्र वनस्पति तत्त्व कुश हो । जसलाई ब्राह्मणहरूद्धारा हिन्दू मात्रका घरघरमा वितरण गरिन्छ ।
कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो । जसको सांस्कृतिक मूल्य पनि उत्तिकै छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुड पुराण, अथर्व वेद र विष्णु पुराणमा समेत वर्णित छ । सनातन धर्मका हरेक पूजाआजा अनि कर्मकाण्डहरूमा यो एउटा अत्यावश्यक वनस्पति हो । यसको प्रयोग अनिवार्य रूपले गर्ने गरिन्छ । नेपाली परम्परामा पिता, माता, गुरुहरूको सम्मान गर्ने विधि छन् । भदौ कुशे औंसीको दिन बुबाको मुख हेरेर जन्मदिने बाबुप्रति श्रद्धा र सम्मान प्रकट गछौं । यस दिन आफ्नो गच्छेअनुसार वस्त्र, मिठाई, फलफूल आदि दिई आफ्नो बाबुप्रति श्रद्धा प्रकट गर्ने गर्छन् । बाबु नहुनेहरूले गोकर्ण आदि तीर्थमाई मरेका बाबुबाजेका नाममा तर्पण श्राद्ध पिण्डदान गर्ने चलन छ ।
त्यसैले गोकर्णे औंसी पनि भनिन्छ । देवकार्य, पितृकार्यलगायत अन्य कार्यहरू गर्दा कुशबिना कार्य सम्पन्न हुन सक्दैन । त्यसैले हरेक पुण्य कार्य जस्तै नुहाउँदा, जप¬स्नान गर्दा, दान गर्दा, पाठपूजा र पितृकार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दू धर्मावलम्बीहरूले महत्त्वका साथ हेर्छन् । हिन्दू धर्मको दैनिकी र संस्कारहरू अत्यन्तै वैज्ञानिक छन्। गीता र वेद नै आविष्कारका जननी हुन् । एक मुठो कुशलाई एउटा प्रयोगका लागि ‘एक्सरे’ मा राखिएको थियो र अधिकांश ‘एक्स¬रे’का विकिरणहरू कुशले आफूमा सोसेको पाइएको थियो । वैज्ञानिक रूपमै सिद्ध यस अदभुत कुशबाट बनेका औंठीहरू र अन्य सांस्कृतिक प्रयोगमा पिँढी दरपिँढी हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्छ । दाहिने हातको भऔंलामा कुशको औंठी प्रयोग गर्दा वातावरणमा भएका गलत तरंग र विकिरणहरूलाई निस्तेज गर्ने कुरा विज्ञानतः प्रमाणित सिद्धान्तहरूले स्पष्ट पारेका छन् ।
नेपाल धार्मिक एवं सांस्कृतिक विविधता भएको देश हो । यहाँ भिन्नभिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छन्। विभिन्न धर्म मान्ने मानिस विभिन्न चाडपर्व मनाउँछन् । त्यसमध्ये कुशे औंसी तथा बाबुको मुख हेर्ने पर्व पनि एक हो । कुशे औंसीका दिन हिन्दू धर्मावलम्बी वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरघरमा भित्राउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरेर जजमानहरू कहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। कुशलाई ब्राह्मणको घरबारीमा रोपिएको कुश वर्षको एकपटक शुभ साइत पारेर यसलाई ओखल्ने या काट्ने चलन रहेको धार्मिक शास्त्रमा उल्लेख छ ।
हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन् । यहाँ हिन्दूहरूको बाहुल्य रहेको राष्ट्र नेपालमा प्रत्येक दिन एक न एक पर्र्व परेकै हुन्छ । समग्रमा भन्ने हो भने हामी धर्म र संस्कृतिमा धेरै धनी छौं । देशमा विद्यमान रहेको धर्म र संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने काम हाम्रो काँधमा आइपरेको कुरा सबैलाई थाहा नै छ । किनकि धर्मसंस्कृतिअनुसार हरेक मनुष्यलाई तीन प्रकारको ऋणको दायित्व हुन्छ । ती हुन् : देवता, पितृ, ऋषि यी तीन ऋणप्रति कृतज्ञ हुनुपर्छ ।
प्रत्येक मनुष्यको लागि आमा, बाबु, गुरु देवतातुल्य हुन्, तीर्थ स्वरूप हुन् । यिनीहरूलाई हेलाँ गरेर देवता मान्नु तीर्थ जानुको कुनै महत्त्व रहँदैन । जसले आफ्ना बाबुआमा र गुरुलाई आदरसाथ संस्कार गर्छ, त्यसले देवता पुजेको र तीर्थ धुमेको सम्पूर्ण फल प्राप्त गर्छ । विवाहपश्चात् जन्मघर छाडेर कर्मघरमा गएका चेलीहरूका लागि यो औंसी बाबुको मुख हेर्ने पर्वको रूपमा बढी उल्लेखनीय बन्न पुगेको पाइन्छ ।
जताततै नारीहरू कोसेली बोकेर माइतीतर्फ लर्कन लागेको घुइँचो नै देखिन्छ । त्यस्तै आफ्ना बाबु मृत भइसकेका छन् भने यस दिन बाबुको सम्झनामा स्नान दान गरेर बाबुप्रति सम्झना र भक्ति प्रकट गर्ने पनि चलन छ । त्यसैले सजीव पिताप्रति सम्मान एवं आस्था र मृत पिताप्रति सम्झना प्रकट गर्ने र आ–आफ्नो घरघरमा ब्राह्मणद्वारा कुश ल्याउने महत्त्वपूर्ण पर्वको रूपमा चिनिन्छ ।
साभार : अन्नपूर्ण पोस्ट् ।