fbpx

निर्वाचन लक्षित जनताको साथमा कांग्रेस अभियान शुभारम्भ

निर्वाचन लक्षित जनताको साथमा कांग्रेस अभियान शुभारम्भ


चुरेकुञ्ज, गुलरिया । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लक्षितगर्दै ‘जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य गेहेन्द्र गिरीले व्यानर पढेर बर्दियामा कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।

अभियान सफल सार्थक बनाउन सबै नेता कार्यकर्ता एकजुट भई लाग्नु पर्ने गिरीले बताउनु भयो । कांग्रेस मार्फत प्राप्त गरिएका उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका निर्णय बारे नागरिकलाई बुझाई विजयको माहोल बनाउन अभियानको अपेक्षा रहेको उहाँको भनाई छ । कार्यक्रममा केन्द्रीय सदस्य एवम महासमिति सदस्य महेन्द्र कुमार शर्मा, लुम्बिनी प्रदेश कार्यसमितिका सहमहामन्त्री एवं प्रदेश प्रतिनिधि खगराज शर्मा, लुम्बिनी प्रदेशका प्रवक्ता एवं प्रतिनिधि प्रचण्ड बिक्रम न्यौपानेको सहभागीता थियो ।

त्यस्तै प्रदेश प्रतिनिधि एवम सदस्य द्वय सुभाष केसी, अन्जना पान्डे, लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर प्रसाद चौधरी लगायतले अभियानका सन्दर्भमा मन्तव्य व्यक्त राख्नु भएको थियो । आगामी निर्वाचन लक्षित प्रचारप्रसार तथा संगठन सुदृढिकरणका लागि कांग्रेसले शुक्रबारदेखि देशव्यापी रूपमा अभियान शुरु गरेको हो । अभियानको पहिलो चरणको कार्यक्रम भाद्र १० गतेबाट भदौ २४ गते सम्म सन्चालन रहने जनाईएको छ । पार्टी सभापति अरुणसिंह राठौरको सभापतित्वमा भएको कार्यक्रम संचालन पार्टीका सचिव मिनराज चौधरीले गर्नु भएको थियो ।

तपाइको मत