fbpx

चौतर्फी बाघको त्राहीत्राही

चौतर्फी बाघको त्राहीत्राही

यादव आचार्य, गुलरिया । ठाकुरबाबा नगरपालिका वडा नम्वर ७ मोहनपुरकी ६२ बर्षिया डल्ली रावत मंगलवार साथीहरुसँग बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको संवेदनशिल क्षेत्र बघौरा फाँटामा निउरोको साग टिप्न पुगिन् । उनलाई एक्कासी पाटेबाघले आक्रमण गरेर जंगल भित्रै पुर्यायो । सँगै गएका साथीहरुले नेपाली सेनाका सुरक्षाकर्मीलाई खबर गरेपछि तत्काल खोजी गर्दा बाघले खाएको अवस्थामा रावतको शव भेटियो ।
एकसाता अघि मधुवन नगरपालिका वडा नम्वर ३ भग्रैया स्थित खाता सामुदायिक वनमा घाँस काट्न गएकी २७ बर्षिया रिना सुनार बाघको शिकार वनिन् । गेरुवा गाउँपालिका वडा नम्वर ६ वाँझपुर स्थित गेरुवा कर्णाली नदीको टापुमा भैसी चराउन गएका राजापुर नगरपालिका वडा नम्वर १० कालावन्जरका ६५ बर्षिय लाल बहादुर थारुले बाघको आक्रमणमा परी ज्यान गुमाए । बर्दियामा पछिल्लो समय साता अन्तरालमै बाघ आक्रमणको क्रम बढेको छ । रोकिएको छैन ।
कार्तिक महिनामा एक साताकै अन्तरालमा बाघले ३ जना मानिसको शिकार गर्यो । कार्तिक ५ गते मधुवन नगरपालिका वडा नम्वर ३ निवासी २९ बर्षिया गंगा खत्रीले खाता जैविकमार्ग अन्र्तगत पर्ने संझना सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघ आक्रमणमा परी ज्यान गुमाएको एक साता वित्न नपाउँदै सोही निवासी २९ बर्षिय रमेश थारु र २६ बर्षिय दिनेश थारु खाता जैविकमार्ग धनौरा क्षेत्रमा रहेको वेलझुण्डी सामुदायिक वनमा एकै दिन बाघको आहार वने ।
बर्दियामा भएको बाघ आक्रमणको घटनालाई अध्ययन गर्दा सबै जंगल क्षेत्रमै पुगेका समुदायका मानिसहरुलाई बाघले आक्रमण गरेको देखिन्छ । घाँस, दाउरा, भैसी, बाख्रा चराउन जानेक्रमा अधिकांस मानिसलाई बाघले आक्रमण गरेको पाईन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका अधिकृत रविन कडरियाले भने साढे २ बर्षको अवधिमा बर्दिया–बाँके कम्प्लेक्समा बाघको आक्रमणबाट १८ जनाको मृत्यु भएको छ । बर्दिया निकुञ्ज क्षेत्रमा ९, बनक्षेत्रमा ७ र बाँके राष्ट्रिय निकुञ्जमा २ जनाले बाघ आक्रमणमा ज्यान गुमाएका हुन् । यसबर्ष बर्दियामा ९ जनाले ज्यान गुमाएका छन् ।
कडरियाका अनुसार ज्यान गुमाउनेमा खाता जैविकमार्गमा ५ र निकुञ्ज क्षेत्रमा ४ जना छन् । बर्दिया राष्ट्रिय निकुञ्जले ९ सय ६८ र मध्यवर्ती क्षेत्रले ५ सय ७ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ । उनले थपे बर्दियामा रहेका ८७ वटा पाटेबाघ मध्ये ४ ओटा खाता जैविकमार्ग र ६ वटा राजमार्गको आम्वासा–कर्णाली क्षेत्रमा छन् । बाँकी बाघहरु अन्यत्र छरिएका छन् । निकुञ्ज क्षेत्रमा बाघको आहारा प्रशस्त भएपनि खाता जैविकमार्ग क्षेत्रमा बाघलाई आहारा अभाव छ ।
बाघ नियन्त्रणका लागि हामीले प्रयास निरन्तर गरेका छौं । हालसम्म गोला र खातामा गरी २ वटा बाघ नियन्त्रणमा लिईसकेका छौं । संवेदनशिल क्षेत्रहरुमा मानिसको आवागमन रोक्न सूचना भएपनि मान्छेहरु जानेक्रम नरोकिँदा र्दुघटना बढेको उनको भनाई छ । निषेधित क्षेत्रमा जान भएन । बाघ जंगलबाट घरमै आएर आक्रमण गरेको अवस्था नभई जंगल गएको अवस्थामा आक्रमण गरेकाले सबैजना सतर्क हुनुपर्छ । हामीले सम्भावित बाघको मुभमेन्ट हुने स्थानहरुमा क्यामरा राखेर अध्ययन गरी रहेका छौं । आक्रामक बाघ नियन्त्रण गर्न केही समय लाग्न सक्छ । नियन्त्रण नहुँदा सम्म जंगल जाने कार्य कमी गर्नुपर्छ उनले भने ।

तपाइको मत