fbpx

रुसको आक्रमणका क्रममा ९ हजार युक्रेनी सेना मारिए

रुसको आक्रमणका क्रममा ९ हजार युक्रेनी सेना मारिए

किभ (एएफपी) : रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९ हजार युक्रेनी सैनिक मारिएका छन् । ६ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनमा संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन् ।

युक्रेनका कमान्डर–इन–चिफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । थुप्रै बालबालिकाका अभिभावक युद्ध मैदानमा छन् । तीमध्ये कतिपय त मारिएका छन् । बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धबीच यही बुधबार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै छ ।

मस्कोको सेनाले राजधानी किभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ । युद्धले ऊर्जा–इन्धन र खाद्यान्नको मूल्य अकासिएको छ । विश्वभर युद्धको झट्का महसुस भइरहेको छ ।

रूसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विस्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ । सो विस्फोटमा कट्टर रुसी विचारधाराका नेता अलेक्जेन्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारप्रति समवेदना दिँदै ‘घृणित अपराध’को निन्दा गरेका छन् ।

साभार : अन्नपुर्ण अनलाइन

तपाइको मत