आक्रामक पाटेबाघ डार्टगरी सल्यानबाट नियन्त्रणमा लिईयो
- मंगलबार भदौ ७ , २०७९
यादव आचार्य, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जको चेपाङ मध्यवर्ती क्षेत्र अन्र्तगत सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्वर ५ गेरुवनी स्थित शक्ति मध्यवर्ती सामुदायिक बनको आक्रामक पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । निकुञ्ज कर्मचारी, निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना, स्थानिय मध्यवर्ती उपभोक्ता समिति लगायत राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले सल्यानको कालीमाटी गाउँपालिका वडा नम्वर ७ स्थित स्वामीबास बनक्षेत्रबाट समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिईएको हो ।
बन क्षेत्रमा स्वचालित क्यामेरा मार्फत बाघलाई अनुगमन गरी डार्ट मार्फत लठ्याएर नियन्त्रणमा लिईएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । समातिएको बाघलाई बाँके राष्ट्रिय निकुञ्जको खैरीपोष्ट नजिकै खोरमा राख्न पठाएका छौं । नियन्त्रणमा लिईएको बाघ १२ बर्षको पोथी हो । सुर्खेतको भेरीगंगाा निवासी ४६ बर्षिय रामबहादुर चन्द र ६७ बर्षिय कवि वलीको साउन २९ गते शक्ति सामुदायिक बनममा घाँस संकलन गर्न एका बेला बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।
मानविय आक्रमणको घटना पश्चात निकुञ्जले क्यामरा जडान गरी अनुगमनगर्दै आएको हो । अधिकृत श्रेष्ठले भने नियन्त्रणमा लिएको बाघ बुढो रहेको, स्वास्थ्यमा समस्या र दाँत तथा नंग्रा भाँचिएको अवस्थामा छ । निकुञ्जले हाल सम्म ७ वटा समस्याग्रस्त पाटेबाघलाई नियन्त्रणमा लिएको छ । जसमध्ये ३ वटा बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा, २ वटा बाँके राष्ट्रिय निकुञ्जको खोरमा र एउटा काठमांडौ स्थित सदर चिडियाखानामा पठाएईएको छ । नियन्त्रित बाघ मध्ये बाँके पठाईएको एउटा बाघ खोरबाट भागेको र बर्दियामा राखिएको बुढोबाघ कालगतिले मरेको श्रेष्ठले प्रष्ट्याए ।