गर्भवतीलाई सुत्केरी गराउन हेलिकोप्टर : मन्त्री रेग्मी
- मंगलबार भदौ ७ , २०७९
चुरेकुञ्ज, गुलरिया । सुत्केरी हुन नसकी खतरामा परेका गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन हेलिकोप्टरको ब्यवस्थापन गरिएको महिला वालावालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताएकी छिन् । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्वर ३ मा निर्मित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलवाबज्जाको शौचालय सहितको ६ कोठे भवन समुद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधनगर्दै मन्त्री रेग्मीले जोखिममा परी सुत्केरी हुन नसकेकाका गर्भवती महिलाको उपचारको लागि मन्त्रालयले हेलिकोप्टरको ब्यवस्था मिलाएको बताईन् ।
आफू महिला, बालवालिका, अपांग लगायत विपन्नको अभिभावक भएको प्रष्ट्याउँदै ४५ वटा जिल्लाहरुका जोखिममा परेका गर्भवती महिलाको उद्धारको लागि हेलिकोप्टर चार्टरको ब्यवस्था मिलाएको उनले भनिन् । नेपालका दुरदरामा गर्भवती महिलाहरु सुत्केरी हुन नसकेर जोखिममा परी मृत्यु वरण गर्नु पर्ने अवस्था कायमै रहेकोभन्दै चिन्ता ब्यक्त गरिन् । जोखिममा परेका सुत्केरी हुन नसकेका गर्भवती महिलाको सुचना मन्त्रालयमा आउने वित्तिकै हेलिकोप्टर पठाईने विस्वास दिलाईन् ।
सरकारले सम्वन्धीत स्थानहरुमै अस्पतालहरु खोल्नुपर्ने भएपनि जोशजाँगर अभावले सबैतिर अस्पताल स्थापना हुन नसकेको बताउँदै त्यस्ता क्षेत्रहरुमा दातृसंस्थाहरुलाई सहयोग गर्न अपिल गरिन् । गैरसरकारी संस्थाहरु मन्त्रालयका समितिमै रहने भएकाले जोखिमयुक्त क्षेत्रहरुमा अस्पतालको पहुँच पुर्याउन संघसंस्थाहरुले सहयोग गर्नुपर्ने मन्त्री रेग्मीको भनाई छ । प्लान नेपाल र स्याक नेपालको साझेदारी सहयोगमा निर्मित विद्यालय भवन करिव १ करोड २९ लाख रुपैयाको लगानीमा निर्माण सम्पन्न भएको छ । उक्त भवन निर्माणका लागि बारबर्दिया नगरपालिकाले पनि सहयोग उपलब्ध गराएको हो ।