बढाएर बनाईएको जन्मदर्ताले बालविवाहलाई प्रोत्साहन
- सोमबार चैत ३० , २०७७
बिष्णुप्रसाद अधिकारी, गुलरिया । स्थानियतहहरुमा वालवालिकाहरुको जन्मदर्ता बढाएर बनाईदिँदा बालविवाह न्युनिकरणमा समस्या आएको पाईएको छ । घटना दर्ता गर्दा सोधपुछ लगायत प्रर्याप्त प्रमाण नजुटाई चिनेकै भरमा जन्मदर्ताको प्रमाण पत्र दिने परिपाटीले बालविवाह न्युनिकरण अभियानमा समस्या परेको हो ।
उमेर नपुग्दै २० बर्ष पुगेको जन्मदर्ता वडाहरुबाट दिएको भेटिन्छ । बाल बिवाह मुक्त समाज निर्माणका लागि बाँके युनेस्को क्लबले विभिन्न क्रियाकलापहरु गर्दै आएको जनाएको छ । नेपाल सरकारको लक्ष्य अनुरुप सन २०३० सम्ममा बालविवाह मुक्त नेपाल बनाउने अभियानमा जनप्रतिनिधिको कारणले कतैकतै समस्या देखिएको बाँके युनेस्को फिल्ड सुपरभाईजर सपना शर्माले भनिन् । बालबिवाह न्यूनिकरणका लागि गुलरिया नगरपालिकाका ७ वटा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई समेटेर अघि बढ्ेका छौं ।
संस्थाले बाल बिवाहको जोखिमलाई मध्यनजर राख्दै रोकथामका लागि विद्यालय स्तरमा विभिन्न किसिमका सहयोग तथा क्रियाकलाप गर्दै आईरहेको छ । जस अन्तर्गत विद्यालयमा अध्ययनरत बालिकाहरुलाई मध्यनजर राख्दै महिनावारी भएकै कारण विद्यालय छाड्नु पर्ने समस्या भएका कारण विद्यालयमा सेनेटरी प्याडको व्यवस्थाका साथै तालिम समेत दिईएको शर्माले बताईन् ।
गुलरियाका ४ वटा विद्यालयमा महिनावारी हुँदा हुने पिडाका लागि आराम कक्ष र पानी तथा शौचालयका लागि उचित व्यवस्थापन गरेको छ । गुलरिया नगरपालिकाका कार्यक्रम संचालित माध्यमिक विद्यालयहरुमा शिक्षक, अभिभावन, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरुका विच छलफल चलाई बालबिवाह हुन नदिनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्ने गरेको उनको भनाई छ ।
विद्यालयमा हुने संम्भावित जोखिम न्यूनिकरण गर्न विद्यालय आचारसंहिता लागु गर्नुका साथै यौन दुव्र्यवहारका घटनाको विषयमा विद्यालयलाई जानकारी दिन सूचना पार्टीको व्यवस्था गरिएको छ । शर्माले थपिन् बालबालिका विद्यालय जानबाट बञ्चित नहुनका लागि गुलरिया नगरपालिकाका ८८ जना जेहेन्दार तथा न्यून आय भएका बालकालिका लागि स्कुल पोशाक तथा अध्ययन सामाग्रीहरु वितरण गरेका छौं ।