fbpx

बर्दियाका थारु बस्तीहरुमा श्रीकृष्ण जन्माष्टमीको रौनक (फोटो)

बर्दियाका थारु बस्तीहरुमा श्रीकृष्ण जन्माष्टमीको रौनक (फोटो)


मुरली गोडिया, गुलरिया । हिन्दूहरूले भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक कृष्ण जन्माष्टमी पर्व शुक्रबार मनाए । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

कृष्ण जन्माष्टमी अर्थात थारु समुदायले ‘अष्टिम्की’ मनाएका छन । बर्दियामा थारु समुदायले यस पर्वलाई विशेष महत्व दिइ मनाउने गर्दछन । थारु समुदायले कृष्ण जन्माष्टमी भव्य तरिकाले मनाएका छन् । थारु समुदायमा यसको विशेष महत्व रहेको पाइन्छ । यसको महत्व संस्कृतिसँग जोडिएको र परापुर्वकालदेखि नै अष्टम्की थारु समुदायमा मनाइदै आएको अष्टम्की पर्व सांस्कृतिक पहिचानसँग जोडिएको बताइन्छ । भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा यो पर्व पर्ने हुँदा थारु भाषामा यसलाई ‘अष्टिम्की’ भन्ने गरिन्छ ।


अष्टमीका दिन थारु समुदायका किशोरी तथा महिलाहरू दिनभर निराहार व्रत बस्छन् । बेलुकीपख सामूहिक रूपमा गाउँको अगुवा महटावाँको घरमा गएर बर्तालुहरूले पालैपालो श्रीकृष्णको पूजा आराधना गर्ने, घरको कूलदेवतालाई घरमूलीले सम्झेर बत्ती बालेर थालीमा अक्षता, छेउछेउमा घुन्यासरको फूल, सालको पातमा सिन्दुर (सेन्डुर), माटोको पालामा बत्ती बालेर राखिन्छ भने विशेषगरी कृष्णलाई मनपर्ने परिकार दही, केरा, अम्बा लगायतका फलफूलले कृष्णलाई पूजा गर्ने गरिएको बारबर्दिया नगरपालिका वडा न. ४ घोरपिट्टा निवासी रामकृष्ण थारुले बताए ।

सबैजना लाइनमा पुजा गर्ने स्थानमा पुगेपछि सबैभन्दा पहिले घरमूली देखि कृष्ण (कान्हा) को पूजा गर्ने बेला थारु समुदायका महिलाहरूले भगवान कृष्णको सम्झनामा भजन पनि गाउने गर्दछन् । थारु समुदायमा ठुलो नाच मानिने सखिया नाचको शुभारम्भ पनि अष्टिम्की बाटै गरिन्छ । यो नाचमा पूर्णतया कृष्ण लीला सम्बन्धी गीत गाइने गरिन्छ । किशोरीहरू योग्य वर पाउने कामना सहित व्रत बस्ने गरेको र विवाहित महिलाहरू आफ्नो पतिको दीर्घायु र सुश्वास्थ्यको लागि व्रत बस्ने गरेको गुलरिया ५ बालापुरका पर्शुराम थारुले बताए ।

चाड पर्वको आफ्नै मूल्य मान्यता र महत्व हुन्छन । थारू जातिमा विधिवत रुपमा महिलाहरुले मात्र निराहार ब्रत बस्ने यो पर्व हिजो दिनमा जुन किसिमले मनाइन्थ्यो । आजभोलि कतिपय स्थानमा सामान्य औपचारिकतामा सीमित हुँदै गएको पाइन्छ । गाउँभरिका महिलाहरु एकै ठाउँमा जम्मा भई मनाउने यो पर्वमा आजभोलि एक्लै आफ्नो कोठामा कृष्णको फोटो ल्याइ पूजापाठ गर्ने प्रवृति बढेकाले सामाजिकतामा कमि महशुस गर्न थालिएको छ । त्यसकारण परम्परादेखि चलिआएको आफ्नो मौलिक परम्परालाई संरक्षण गर्दै मौलिकपनलाई आत्मसात गरी मनाउन जरुरी रहेको बुद्धिजिवीहरुको तर्क छ ।

हरेक जाति समुदायको आफ्नो मौलिक तौर तरिकाले मान्ने विभिन्न चाडपर्वहरु रहेका हुन्छन् । थारू एक अलग पहिचान दिने खालको आफ्नै भाषा संस्कृति एवम् सामाजिक रीतिरिवाजहरू रहेको जाति हो । थारू जातिले अन्य जातिहरु जस्तै अनेकौ चाडपर्वहरु मनाउँदै आइरहेका छन् । माघी, बर्का डश्या, फगुई, होरी, डेवारी, बर्का अट्वारी, अष्टिम्की, गुरही, बर्का पूजा, हरेरी, धुरेरी, हरढावा जस्ता धेरै पर्वहरु सामूहिक रुपमा मनाउँदै आएका छन् । थारूहरुको अष्टिम्की एक महत्वपूर्ण महिलाले मान्ने पर्व हो ।

तपाइको मत