बिल विजक दुरुस्त नराख्ने ब्यवसायीलाई जरिवाना
- सोमबार श्रावण ३० , २०७९
चुरेकुञ्ज, गुलरिया । बिल विजक दुरुस्त नराख्ने ब्यवसायीलाई जरिवाना गरिएको छ । जिल्ला स्थित सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले विल विजक प्रयोग नगरेका गुलरियाका ब्यवसायीहरुलाई जरिवाना गरेको हो ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्ज, गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्ज, घरेलु तथा साना उद्योग कार्यालय बर्दिया, स्थानियतह लगायत संघ संस्था सम्मिलित अनुगमन टोलीले मधुवन र गुलरिया नगरपालिकाका बजार अनुगमनका क्रममा गुलरियामा विलविजक नराखेको भेटिएपछि ब्यवसायीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताए । खाद्यान्न, फेन्सी, मदिरा पसल, फ्रेस हाउस, पेट्रोल पम्प गरी ३८ वटा ब्यवसायहरु अनुगमन गरेका थियौं ।
अनुगमन गरिएका मध्ये १० जना ब्यवसायीलाई विभिन्न कैफियतमा ९२ हजार रुपैया जरिवाना काटेका छौं । त्यस्तै २५ हजार मुल्य बढीको म्याद गुज्रिएको सामाग्री जफत गरी नष्ट गर्यौं । उनले भने गुलरिया नगरपालिका वडा नम्वर ३ मा अवस्थित गणपति आयल स्टोरमा अर्को आदेस नभए सम्मका लागि पेट्रोल विक्री वितरणको कार्य रोक्का गरेका छौं । ब्यवसायीहरुलाई देख्ने स्थानमा मुल्य सूचि राख्न, म्याद गुज्रिएका सामाग्री विक्री वितरण नगर्न, विल विजक दुरुस्त राख्न निर्देशन समेत गरेको उनले प्रष्ट्याए । ब्यवसायीलाई ७ दिन भित्र पसल ब्यवसाय सुधार गर्न निर्देशन गरेका छौं ।
विल विजक नराख्ने ब्यवसायीलाई ५ देखि २० हजार रुपैया सम्म जरिवाना गर्ने कानूनी प्रावधान रहे वमोजिम ब्यवसायीलाई जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुलरिया बर्दियाका अधिकृत मोहनसिंह घर्ती मगरले बताए । उनले भने त्यस्ता ब्यवसायीलाई हामीले अनुगमनका क्रममा कसुर हेरी जरिवाना गर्यौं । अटेर गरी पटक पटक गल्ती गरेको भेटिए थप कारवाही गर्छौ । उनले भने गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्ज सहितको टोलीले पेट्रोल पम्पमा कम पेट्रोल नाप गरेको भेटिएपछि सिल गरिएको हो । मिटरको नोजल चेन्ज गरी टोलीलाई चेक जाँच नगराए सम्म पम्पबाट तेल विक्री वितरण बन्ध गर्न निर्देशन दिईएको हो ।
बर्दियामा बजार अनुगमन मासिक रुपमा गर्ने गरेका छौं । आफूले खरिद गर्ने सरसामानका बारेमा उपभोक्ता पनि जागरुक हुनुपर्ने अधिकृत मगरको भनाई छ । उपभोक्ता सचेत भए ब्यवसायीले झुक्याउन पाउँदैनन् । उनले भने सामान खरिद गर्दा म्याद हेर्ने, मुल्यका बारेमा पनि जानकारी लिने गर्नुपर्छ । सामान खरिद गरेपछि अनिवार्य रुपमा विल लिन उनले उपभोक्ताहरुलाई आग्रह गरे ।