इजरायल–प्यालेस्टाइनबीच गोलावारीमा ३२ जनाको मृत्यु
- आइतबार श्रावण २२ , २०७९
गाजा । इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) बीच गोलावारी जारी छ । सो गोलावारीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बालबालिका पनि रहेका छन् ।
इजरायलले गाजा पट्टीमा शुक्रबार (५ अगस्ट) हवाई आक्रमण गरेको थियो, जसमा हमासका वरिष्ठ कमाण्डर तैसिर अल–जबारीको पनि मृत्यु भएको थियो । आइतबारको आक्रमणमा अर्का कमाण्डर पनि मारिएका छन् । इजरायली सेनाले हमासका दोस्रो शीर्ष कमाण्डर खालिद मन्सुर हवाई हमलामा मारिएका जनाएको छ । इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप सहर रफाहमा एउटा घरलाई आक्रमणको निशाना बनाएको थियो ।
सो आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु हुनाको साथै ३० भन्दा बढी घाइते भएका प्यालेस्टिनी सुरक्षा स्रोतहरूले जनाएको छ । प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।