fbpx

खुला सिमानाका कारण मानव वेचविखनको गतिविधि बढ्यो

खुला सिमानाका कारण मानव वेचविखनको गतिविधि बढ्यो

विष्णु अधिकारी, बर्दिया । बर्दियाको विभिन्न खुला सिमाबाट भारतमा मानव वेचविखन तथा ओसारपसार प्रमुख समस्याको रुपमा रहि आएको छ । नेपाल भारत विचमा रहेको मुख्य नाका र छोटी भन्सार वाहेक अन्य स–साना तथा सहज नाकाहरुबाट आवतजावत गर्नेको कुनै यकिन तथ्याङ्क सरोकारवाला निकाय सँग छैन ।

नेपालमा रोजगारीको अवसर नभएका कारण भारत वा भारत हुँदै अन्य मुलुकहरुमा पलायन हुने दर दिनानुदिन बढ्दै गइरहेको शान्ति पुनस्र्थापना गृहले बताएको छ । बर्दियामा पनि विभिन्न खुला सिमाना भएका कारण विभिन्न किसिमका अपराधिक क्रियाकलाप बढ्दै गएको तथ्याङ्ककले देखाएका कारण खुल्ला सिमाबाट हुने मानव बेचविखन तथा ओसारपसारलाई निगरानी राख्नका लागि बर्दियाको विभिन्न नाकामा परामर्श केन्द्र स्थापना गरिएको शान्ति पुनस्र्थापना गृह बर्दियाकी कार्यक्रम संयोजक सपना शर्माले बताउनु भयो । बढ्दो बेरोजगारी, घरेलु हिंसा, गरिबी, अर्काको देखासिकी, सामाजिक संजाल तथा फोनको दुरुपयोगका कारण राम्रो जिवन जिउने अभिलाषाले गर्दा महिलाहरुमानव बेचविखनको जोखिममा पर्ने गरेको संयोजक शर्माको भनाई रहेको छ ।

बर्दियाका विभिन्न सिमा नाकामा केन्द्रले निगरानी बढाएसंगै बर्दिया लगाएत अन्य जिल्लाका गरि ४० जना महिलाको उद्धार गरेको शान्ति पुनस्र्थापना गृह बर्दियाले जानकारी दिएको छ । संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा परामर्श केन्द्र मार्फत २ हजार ४ सय ४९ जनाको निगरानी राखेको बताएको छ । विदेशियका युवाहरु मध्ये खासगरि महिलाहरु पुरुषहरुको तुलनामा बढि जोखिम र शोषणमा पर्ने गरेको गणेशपुर परामर्श केन्दकी परामर्श दाता अञ्जना पाण्डेले बताउनु भयो । गणेशपुर नाकाबाट १ हजार ८५ जना व्यक्तिहरुलाई मानव बेचविखन तथा ओसारपसार विरुद्धको सोधपुछ फारम भरेर मानव बेचविखन, ओसारपसार तथा जोखिम कसरी हुन्छ भन्ने विषयमा जानकारी दिने गरेको परामर्श दाता पाण्डेको भनाई छ ।

गणेशपुर नाकाबाट २० जना महिलालाई उद्धार गरी १५ जना महिलालाई परिवारको जिम्मा लगाएको तथा ५ जनालाई प्रहरीमा बुझाएको बताईन । बर्दियाको अन्य नाकाको तुलनामा गुलरिया नगरपालिका वडा नंं ११ को गणेशपुर–लौकाही नाका निकै सहज भएका कारण मानव वेचविखन तथा अपराधिक गतिविधि बढ्न सक्ने पाण्डेले जानकारी दिनुभयो । यसैगरि परामर्श केन्द्रकी परामर्श दाता सम्झना पौडेलले यस नाकाबाट विशेष गरेर युवायुवतीहरु विभिन्न माध्यमबाट चिनाजानी गरि झुठो नाता लगाएर आउने गरेको बताउनु हुन्छ । पौडेलले शंकास्पद व्यक्ति लागेमा अलग अलग राखि सोधपुछ फारम भर्ने र दुबैजनाले दिएको परिचय मेल नखाएमा परिवार तथा प्रहरीको जिम्मा लगाउने र आवश्यक भएमा शान्ति पुनस्र्थापना गृहमा राखी परामर्श दिने गरेको प्रष्ट्याउनु भयो ।

नेपालको कानूनमा मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र २ लाख जरिवाना तथा शोषण गर्ने उद्देश्यले नेपाल भित्रको एक ठाउँबाट लैजानेलाई १ बर्ष देखि २ बर्ष सम्म कैद र विदेश लगेको भए २ बर्ष देखि ५ बर्ष सम्म कैद गर्ने कानूनमा सजायको व्यवस्था रहेको छ । यसैगरि मानव वेचविखन वा ओसारपसारको कसुर गर्न दुरुत्साहा षडयन्त्र वा उद्योग गर्नेलाई वा सो कसुरको मतियारलाई सो कसुर गर्दा हुने सजायको आधा सजाय हुने कानूनी सजायको प्रावधान छ ।

तपाइको मत