fbpx

राजापुर नगरको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी आन्दोलित

राजापुर नगरको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी आन्दोलित


मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिका र मातहतका वडा कार्यालय तथा स्वास्थ्य शाखाका कर्मचारीहरुलाई हेरफेर गरिएको भन्दै राजापुर नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरुको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै सुशासन कायम गराउन तथा फरक भूगोलको अनुभव लिन कार्य जिम्मेवारी हेरफेर गरेको सूचना नगरपालिकाले प्रकाशित गरेसँगै सम्वन्धित कर्मचारीहरु आन्दोलित भएका हुन् ।

राजापुर नगरपालिकाको प्रशासन शाखा प्रमुख खड्ग बहादुर वलीले नगरपालिकाको कार्यपालिकाले श्रावण १० गते पक्षपात रहित भएर कर्मचारीको स्थानान्तरण गरेको वताउनु भएको छ । कर्मचारीको जिम्मेवारी हेरफेर र सरुवा नियमित र सजह प्रक्रिया भएको र अहिले नगरपालिका भित्रै खटनपटन भएकाले पनि यो विषयलाई ठूलो वनाउन नपर्ने प्रशासन शाखा प्रमुख वलीको भनाई छ ।


नगर पालिकापालिकामा कार्यरत स्थायी, करार लगायतका सम्पूर्ण कर्मचारीहरुलाई आफू खुशी वडामा स्तानान्तरण गरेको भन्दै स्वास्थ्य शाखाका कर्मचारीहरु आन्दोलित भएका छन् । नगरपालिकाका विभिन्न स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्य तर्फका कर्मचारीले बिहिवार नगरपालिलकाको कार्यलयमा धर्ना दिएका छन् ।

प्रतिशोधपूर्ण र मनोमानी पूर्वक गरिएको कर्मचारी सरुवा बदर गरि आफू कार्यरत स्थानमा नै काम गर्न पाउनुपर्ने, प्रोत्साहन भत्ता पाउनु पर्ने माग राख्दै कर्मचारीले नगर प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा प्रशासनले आफूहरुलाई गरेको व्यवहार मान्य नहुने उल्लेख गरिएको छ । मागपूरा नभएसम्म आन्दोलन जारी राख्ने आन्दोलनका अगुवा राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताउनु भएको छ ।

तपाइको मत