fbpx

सकसबन्दै बाघ संरक्षण

सकसबन्दै बाघ संरक्षण

यादव आचार्य, गुलरिया । नेपालमा लोपोन्मुख पाटेबाघको संख्या दोब्बर भएसँगै संरक्षणमा गम्भीर चुनौती देखा परेको छ । देशका बाघ पाईने जंगलहरुमा बाघले मान्छे माार्ने क्रम नथामिएपछि मानव समुदाय र बाघविच सहअस्तित्व खल्बलिएको छ । दीगो बाघ संरक्षणका लागि राष्ट्रिय रुपमै बाघ संरक्षणको भरपर्दो रणनिति बनाई यसको संरक्षण गर्नुपर्ने आवस्यकता महसुस गर्न थालिएको छ ।

जैविक विविधतामा पारिस्थितिक प्रणालीको सूचक मानिने बाघका प्रजातीहरु पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेपछि विश्वका बाघ पाईने १३ देशहरुले संरक्षणमा कम्मर कसेका छन् । वासस्थान विनास, आहाराको कमी लगायत बढ्दो चोरी शिकारका कारण बाघका उपप्रजातीहरु लोपहुने अवस्थामा पुगेका हुन् । विश्वमा पाईने बाघका ९ उपप्रजाती मध्ये सन् १९४० को दशकमा बाली, १९७० को दशकमा क्यास्पिएन र १९८० को दशकमा जाभान ३ उपप्रजातीका पाटेबाघ संसारबाटै लोप भैसकेका छन् । अस्तित्वमा रहेका बाघहरु विश्वबाटै लोप हुन सक्ने आशंकाले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको बाघ पाईने देशहरुका प्रमुखको वैठकले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने प्रतिवद्धता गरे अनुरुप नेपालमा पनि बाघको संरक्षण शुरु गरिएको हो ।

नेपालले तोकिएको समयमै बाघको संख्या दोब्बर पारी प्रतिवद्धता पूरा गरेको छ । नेपालमा विश्व वाघ दिवसको अवसरमा बाघ गणनाको पछिल्लो नतिजा सार्वजनिक गरिँदै छ । पछिल्लो सर्भेक्षण अनुसार बर्दियामा पाटेबाघको संख्या बृद्धि भएको अनुमान छ । निकुञ्ज प्रशासन, नेपाली सेना, स्थानिय समुदाय लगायत संरक्षणमा आवद्ध संघसंस्थाहरुको सक्रिय सहभागीताले संरक्षणलाई अपनत्व लिएका कारण बाघको संख्या बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । बन्यजन्तुको बासस्थान ब्यवस्थापन, घाँसे मैदान, सिमसार क्षेत्रको ब्यवस्थापन नियमित भई सुधार भएका कारण आहारा प्रजातीको संख्या उल्लेख्य मात्रामा बढ्दा बाघको संख्यामा बृद्धि भएको प्रष्ट्याए ।

पाटेबाघ बढेसँगै यसको बासस्थान, आहारा प्रजातीको ब्यवस्थापनका लागि घाँसे मैदानहरुको सँख्या थप बृद्धि गर्नु आवस्यक छ । श्रेष्ठले भने बासस्थान, आहारा प्रजातीको घनत्व, चोरी शिकार तथा मानव–बाघ विचको द्वन्द बाघ संरक्षणको प्रमुख चुनौतीको रुपमा रहेको छ । बाघको संख्या बढेसँगै मानव–बाघ विचको द्वन्द बढेको छ । बाघ र मानव विच सहअस्तित्व कायम राख्न समयमै ठोस कार्यक्रमहरु मार्फत समस्या सुल्झाउनु आवस्यकता औल्याउँदै उनले थपे बाघ बढेपछि द्वन्द निराकरणगर्दै सहअस्तित्व कायम गर्न ५ बर्षे रणनितिक योजना बनाएर बाघ संरक्षणको कार्य अघि बढाएका छौं । मानव–बाघ द्वन्द रोक्ने विषेश कार्यक्रमहरु अघि सारिएको छ । निकुञ्ज लगायत मध्यवर्ती क्षेत्रहरुमा बाघ बढेसँगै मानवसँगको द्वन्द चुलिएको छ ।

बाघको सँख्या बढेसँगै यसको संरक्षणमा पनि चुनौती थपिएको छ । आहाराको खोजि तथा आधार क्षेत्र निर्माणका क्रममा बाघहरु जंगलबाट बाहिरिने क्रमले मानव—बन्यजन्तु बिच द्वन्दको स्थिती श्रृजना भएको छ । समुदायहरु प्राकृतिक श्रोत साधनका लागि जंगलमा परनिर्भर बन्नुपर्दा मान्छे र जनावरविच द्वन्दात्मक परिस्थिती श्रृजना हुँदै गएको छ । राजमार्गहरुमा सवारी र्दुघटनाका कारण बाघ मर्ने क्रम बढ्दो छ । आहाराको खोजीमा बाघहरु जंगल बाहिर निस्कदा मानविय लगायत पशुधनको क्षती बढेको छ । भारतको कर्तनियाघाट वाईल्ड लाईफ सेञ्चुरी र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने खाता जैविकमार्गमा पछिल्लो समय मानव र बाघविच द्वन्द बढेको डिभिजनल बन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत प्रविण विडारीले बताए । समुदायले मानविय तथा पशुधनको क्षती ब्यहोर्नु परेको छ ।

खाता जैविकमार्ग क्षेत्रमा वासस्थान खण्डीकरणमा बृद्धि भएको छ । प्रमुख विडारी भने देखिएका समस्याहरु तत्काल समाधान गर्न नसक्दा बन्यजन्तुहरु जंगल बाहिरे क्रम बढेको छ । बाघ स्वस्थ जंगलको सूचक हो । बाघ पाईने जंगल जैविकविविधताले सम्पन्न हुन्छन् । नयाँ बाघहरुले आफ्ना आधार क्षेत्रहरु बढाउँदै गएकाले उनीहरुको बासस्थान ब्यवस्थापन गर्नु जरुरी छ । पाटेबाघ नेपाल, भारत, भुटान र बंगलादेशका संरक्षित क्षेत्रहरुमा मात्र पाईन्छन् । पछिल्लो समय अर्को प्रजाती समेत प्राकृतिक वासस्थानबाट हराईसकेपछि चिडियाखानामा राखेर वैज्ञानिकहरुले प्रजनन् शुरु गरेका छन् । अन्य ५ वटा उपप्रजातीहरु विश्वबाटै लोपोन्मुख अवस्थामा छन् ।

बाघ संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्जलाई प्राविधिक लगायत आवस्यकता अनुसार सहयोग पुर्याउँदै आएको एनटीएनसी बर्दियाका संरक्षण अधिकृत डाक्टर रविन कडरियाले बताए । बर्दियामा बाघ गणनाका लागि हामीले प्राविधिक सहयोग गरेका हौं । बाघ सर्भेमा एनटीएनसीले निकुञ्जलाई भरपर्दो सहयोग गर्दै आएको छ । सरकारले विश्व वाघ दिवसको अवसर पारेर साउन शुक्रवार बाघ गणनाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको डा. कडरियाले प्रष्ट्याए । सरकारी तथ्यांक अनुसार नेपालमा सन् १९९९ मा ९८, २००५ मा १०९, २००८ मा १२१, २०१३ मा १९८, २०१८ मा २३५ बाघ थिए । पछिल्लो तथ्यांक अनुसार नेपालमा बाघको संख्या उल्लेख्य मात्रामा बृद्धि भएको छ ।

तपाइको मत