महिला पत्रकारका सवालमा संचारिका बाँकेको अन्र्तक्रिया
- शनिबार श्रावण १४ , २०७९
मुरली गोडिया, गुलरिया । संचार क्षेत्रमा कलम चलाई रहेका महिला पत्रकारको अवस्था बारे संचारिका समुह बाँकेले बर्दियाको गुलरियामा अन्र्तक्रिया कार्यक्रम गरेको छ । संचार क्षेत्रलाई आफनो कार्यथलो बनाई जिवनयापन गर्न कठिन भएको कार्यक्रममा सहभागी संचारकर्मीहरुले गुनासो गरेका छन् ।
पछिल्लो समय पत्रकारितामा देखिएका विभिन्न चुनौतीको सामना संगसंगै महिला पत्रकारहरुलाई हेर्ने दृष्टीकोण, मिडिया संचालकले गर्ने व्यहार तथा स्थलगत रिपोटिङ्गमा देखिएका चुनौती विषयमा गुलरियामा छलफल गरिएको हो । बर्दिया जिल्लामा महिला पत्रकारको संख्या न्युन भएपनि आवद्ध रहको संचारकर्मीले योग्यता क्षमता अनुसारको काममा कार्यरत रहेपनि समयमा पारीश्रमिक नपाउने विषयमा व्यापक गुनासो पाइएको छ । बर्दियामा महिला पत्रकारको अवस्था, चुनौती तथा सम्भावना बारे प्रेस चौतारी नेपाल बर्दियाकी उपाध्यक्ष मिना थापाले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले महिला पत्रकार लगायत समग्र बर्दियाको पत्रकारीताको बिकास बारे आफु चिन्तित रहेको बताउनु भयो । संचारकर्मीले संचार क्षेत्रमा कार्य गरेपनि पारिश्रमिक नपाउनु, महिला पत्रकारको संख्या कम हुनु लगायतका बिषयमा महासंघ चिन्तित रहको उल्लेख गर्नुभयो । श्रमजीवि पत्रकारले परिश्रमिक नपाएका विषयमा मिडियासंचालक संग महासंघले समन्वय गरि समास्याको समाधान खोजिने अध्यक्ष आचार्यले बताउनु भयो ।
पुरुष पत्रकार जस्तै महिला पत्रकारहरुले पनि आफनो योग्यता, क्षमता अभिबृद्धि गर्नुपर्ने संचारिक समुह बाँकेकी अध्यक्ष रुपनी जिएमले बताउनु भयो । पत्रकारीता क्षेत्रमा आर्थिक अवस्था सवल बनाउन अध्ययनको अवश्यकता रहेको बताउनु भयो । मिडियामा काम गर्ने धेरै जसो संचारकर्मीले पारिश्रमिक नपाएका गुनासो धेरै स्थानमा रहेको बताउँदै उहाँले महिला पत्रकारको संख्यामा बृद्धि गरि संचारक्षेत्रमा पनि केही गर्न सकिन्छ भन्ने महिला पत्रकारका सवालमा संचारिका समुह अग्रसर हुने बताउनु भयो ।