fbpx

हावाहुरीले क्षती ब्यहोरेका गुलरिया नगरपालिकाका केरा किसानलाई नगरको राहत सिफारिस

हावाहुरीले क्षती ब्यहोरेका गुलरिया नगरपालिकाका केरा किसानलाई नगरको राहत सिफारिस


चुरेकुञ्ज, गुलरिया । गत जेठ २८ गते आएको हावाहुरीका कारण क्षती ब्यहोरेका केरा किसानलाई गुलरिया नगरपालिकाले सहयोगका लागि सिफारिश गरेको छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवको अध्यक्षतामा बसेको गुलरिया नगर विपद ब्यवस्थापन समितिको वैठकले गुलरिया नगरका पिडित केरा किसानलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

गत जेठ २८ गते आएको हावा हुरीले जिल्लामा धेरैले क्षती ब्यहोर्नु परेको थियो । आँधीहुरीले क्षती ब्यहोरेका ६३ वटा केरा किसानले क्षतीपूर्तिका लागि नगरपालिकामा निवेदन दिएको गुलरिया नगरपालिका विपद ब्यवस्थापन शाखाका प्रमुख अजयसिंह ठाकुरले बताउनु भएको छ । वडाको सिफारिस, प्रहरी मुचुल्का, कृषि विषेशज्ञ सहितको टोलीले क्षतीग्रस्त फिल्ड अवलोकनका क्रममा ८५ हजार ४ सय ५ केराका वोट क्षती भएको निष्कर्ष निकालेको छ । प्रति वोट १ सय १९ रुपैयाका दरले कुल १ करोड १ लाख ५४ हजार रुपैया केरा किसानलाई उपलब्ध गराउन नगरपालिकाले कृषि मन्त्रालयलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

समितिले गत असोज र कार्तिक महिनामा आएको अविरल बर्षाबाट भएको धानक्षतीको राहत उपलब्ध गर्न संघीय सरकारलाई सिफारिश गरेपनि हालसम्म किसानले धानको क्षतीपूर्ति नपाएकाले सो क्षतीपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताउनु भएको छ । अविरल बर्षाका कारण नगरका १० हजार ५५३ किसानको १ लाख ७६ हजार ९३० कठ्ठा क्षेत्रफलमा लगाएको १८ करोड २० लाख ६४ हजार रुपैयाको धानवाली नोक्सानी गरेको छ ।

नगरपालिकाले तथ्यांक संकलन गर्ने वित्तिकै क्षतीपूर्तिका लागि माग गरेपनि कृषकले हाल सम्म क्षतीपूर्ति पाएका छैनन् ।
विपद ब्यवस्थापन समितिले हावाहुरीबाट भएको भौतिक क्षतीको राहतका लागि पनि सिफारिस गर्ने निर्णय गरेको छ । गुलरिया नगरपालिकाको अकस्मिक योजना ०७९ र बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यढाँचा ०७९ र पूर्व सूचना संयन्त्र ०७९ स्विकृत गरी कार्यान्वयनमा ल्याउन कार्यपालिकामा पेश गर्ने निर्णय गरेको गुलरिया नगरपालिकाले जनाएको छ ।

तपाइको मत