गैंडालाई प्राकृतिक चुनौती
- आइतबार चैत २९ , २०७७
यादव आचार्य, गुलरिया । र्दुलभ वन्यजन्तु एकसिंगे गैडा पछिल्लो समय प्राकृतिक चुनौतीको सामना गर्दैछन् । पृथ्वीको तापक्रम बढ्दा उत्पन्न जलवायु परिवर्तनको असर गैंडा संरक्षणमा कठिन बन्दै गैरहेको छ । प्राकृतिक रुपमै तापक्रम बढेसँगै गैंडा संरक्षणका क्षेत्रमा कठिनाई देखिन थालेको छ ।
निकुञ्ज लगायत मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरु गैंडाले वासस्थान बनाएका छन् । गैंडाका चरिचरन क्षेत्रमा वनमारा लगायतका मिचाहा प्रजातीहरु झांगिदै गएकाले आहाराको समस्या चुनौतीका रुपमा देखिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए । बर्दियामा पांगो माटोको समस्या छ । गैडालाई आहाल बस्नुपर्ने भएकाले पानी पोखरी तथा घोल आवस्यक पर्छ । राम्रो पांगो माटो घट्दै गएका पाईन्छ । कर्णाली–गेरुवा नदीमा पानीको मात्रा घटेकाले गैंडाका वासस्थानहरुमा पानीको समस्या छ ।
उनले भने बर्दियामा १२ बर्ष देखि गैंडाको शून्य चोरी शिकार बर्ष मनाई रहेका छौं । तर बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनियाघाट बन्यजन्तु आरक्ष विच गैंडा ओहोर दोहोर गरिरहने भएकाले चोरी शिकारीको त्रास उत्तिकै छ । सन् २०१५ को अनुगमनबाट चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लामा ८ र पर्सामा ३ वटा गरी नेपालमा ६ सय ४५ वटा एकसिंगे गैंडा छन् । सन् २०१७ र १८ मा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दियामा ८ वटा गैंडा स्थानान्तरण गरिएका छन् ।
निकुञ्जमा गैंडाको संख्या, वासस्थान प्रयोगको अवस्था र प्रत्येक वासस्थानमा गैडा रहेका संख्या यकिन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा अनुगमनसँगै गणना कार्य चितवनबाट औपचारिक रुपमा शुरु गरेको छ । बर्दियामा वुधवार देखि शुरु गरिएको छ । लगत्तै शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गैंडा गणना शुरु भएको छ । विभागको नियमित कार्यक्रम अन्र्तगतको गैंडा गणना नेपालमा पहिलो पटक नेपाल सरकारको लगानीमा हुँदैछ । यस पटक गैंडा गणना कार्यमा दातृ संस्थाहरुको न्युन सहयोग छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भने गैंडा गणनाका लागि करिव १ करोड १० लाख रुपैया लागत अनुमान विभागको छ । जसमध्ये ३० लाख मुल्यको प्राविधिक सामाग्री खरिद गरिएको छ । ८० लाख रुपैया निकुञ्जहरुकोहरुको खर्च अनुसार वितरण हुन्छ । बर्दियाको गैडा गणनामा १० ओटा हात्ती, ३० जना हात्तीसारे, गणक÷सहायक गणक २० जना र अन्य १० जना गरी ६० जनाको टीम परिचालित छौं । श्रेष्ठले भने टोलीहरु २ साता सम्म फिल्डमा खटिन्छन् ।
प्रत्येक ४–५ बर्षमा गरिने गैंडा गणना गतबर्ष कोभिड महामारीका कारण रोकिएको थियो । निकुञ्जमा प्रत्यक्ष विधिबाट गैंडा गणना भैरहेको छ । हात्तीमा पुगेका गणकहरु गैंडाको तस्विर लिने गन्ने गर्छन् । उनले थपे गैंडा गणना तथा अनुगमनबाट भावी रणनिति र कार्ययोजना बनाउन मद्दत पुग्छ । यस बर्ष बर्दियामा गैंडा बढ्ने अनुमान हाम्रो छ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने ।