fbpx

तरकारी खेती मार्फत जिविकोपार्जन गर्दै बर्दियाका किसानहरु

तरकारी खेती मार्फत जिविकोपार्जन गर्दै बर्दियाका किसानहरु


मुरली गोडिया, गुलरिया । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई र एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले चालु आर्थिक वर्षमा गरेको कामको संयुक्त अनुगमन गराएको छ । अनुगमनका क्रममा बर्दियामा विभिन्न पालिकाहरुमा कार्यालयले गरेको लगानीको अनुगमन गरिएको हो ।

जग्गा चक्लाबन्दि गरि तरकारी खेती, ड्राईगन फ्रुट, केरा लगायतका खेतीको अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा संचालित करार खेतीको समेत अनुगमन गरिएको छ । गुलरिया नगरपालिका–१२ भैसाहीमा दिलीप कुमार थारुले जग्गा करारमा लिई गरिएको तरकारी खेतीबाट लोभलाग्दो आम्दानी गरेको पाइएको छ । मन्त्रालयको रु २ लाख १० हजार र आफ्नो रु ९० हजार गरी रु ३ लाख लागतमा थारुले सिजन अनुसार तरकारी खेती गर्दै आएकामा अहिले लौका, चिचिन्डा र फर्सीको मुन्टा खेतमा लटरम्म फलाएर आम्दानी गरेका छन् । तरकारी खेतीबाट ५ जनालाई रोजगार दिएको थारुले बताए ।

उनले उत्पादन गरेको तरकारी बाँके र बर्दियामा खपत भईरहेको छ । मधुवन नगरपालिका–६ का चित्र बहादुर लामिछानेले ड्राईगन खेतीको पनि अनुगमन गरिएको छ । ड्राईगन फ्रुटको खेती लामिछानेले १५ कठ्ठा जग्गामा लगाएका छन् । लामीछानेले तीन किसिमको ड्राईगन फ्रुट लगाएको बताउँदै सेतो रु ७ सय, रातो रु ८ सय र पहेलो ड्राईगन फ्रुट रु १ हजार प्रति किलोग्राम सम्म बिक्री भईरहेको बताए । पछिल्लो समय ड्राईगन फ्रुट खेती तर्फ किसानको आकर्षण बढ्दै गएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख बिनोद घिमिरेले बताए ।

खेतीमा कृषकलाई कुनै समस्या हुन नदिन आफ्नो कार्यालय परिसरमा ड्राईगन फ्रुट लगाएको प्रमुख घिमिरेले भने । त्यसैगरी गुलरिया नगरपालिका–४ तुल्सीपुर स्थित चक्लाबन्दि गरि गरिएको केरा खेतीको समेत अनुगमन गरिएको छ । १७ जना केराका किसान मिली केरा चक्ला खेती गरिरहेको केरा जोन समन्वय समितिका संयोजक टंकनाथ योगीले बताए । चक्ला खेतीको लागि कृषि आधुनिकीकरण परियोजनाले २५ वटा बोरिङ्ग र २५ वटा मोटर उपलब्ध गराएको योगीले बताए ।

तपाइको मत