संशोधनको मागराख्दै बर्दियामा वन नियमावली जलाइयो
- शुक्रबार असार ३१ , २०७९
चुरेकुञ्ज, गुलरिया । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपाल बर्दियाले सरकारले जारी गरेको वन नियमावली जलाएको छ । वन उपभोक्ताहरुको हित विपरीत भएकोभन्दै डिभिजन वन कार्यालय अगाडी उपभोक्ताहरुले वन नियमावली २०७९ जलाएका हुन ।
बषौँ देखि मासिन लागेको वन जोगाएका उपभोक्ताहरुलाई वन हराभरा भईसकेपछि अधिकार खोस्ने गरी सरकारले नियमावली ल्याएको भन्दै वन नियमावलीलाई तत्काल सुधार तथा संशोधन गर्न सरकार समक्ष उनीहरुले माग गरेका छन् । वन ऐन २०७६ ले उपभोक्तालाई दिएको अधिकार समेत खोस्ने गरी अहिलेको नियमावली ल्याएको उपभोक्ताको आरोप छ । नियमावली सामुदायीक वन, महिला अधिकार र संघियता विरोधी भएको हुँदा देशव्यापी रुपमा जलाउने कार्य भईरहेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य मोहम्मद कर खाँले जानकारी दिनुभयो ।
५० हेक्टर वन निजि क्षेत्रलाई व्यवस्थापनका लागि दिने सहित १२ ओटा बुँदा सच्याउन माग गरेको खाँले उल्लेख गर्नुभयो । नियमावली संसोधन नभए थप आन्दोलनका कार्यक्रमहरुको आयोजना गर्ने खाँले बताउनु भयो । सामुदायिक वनबाट उपभोक्ताहरुले पाउने हक अधिकार कटौती गरेको छ । सरकारले वन नियमावली नेपाल राजपत्रमा २०७९ असार १९ गते प्रकाशित गरेको थियो । नियमावलीमा भएका केही व्यवस्थाहरुमा असहमति प्रकट गर्दै फेकोफनले विरोध गर्दै आएको छ ।