बन्यजन्तुबाट अभिभावक गुमाएका बिद्यार्थीहरुलाई छात्रवृत्ति
- मंगलबार असार २८ , २०७९
चुरेकुञ्ज, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने अभिभावक गुमाएका बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज तथा महिला वातावरण उपसमितिले उनीहरुलाई छात्रबृत्ति प्रदान गरेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जले प्रति विद्यार्थी ८ हजार ३ सय रुपैयाका दरले ३० जना विद्यार्थीलाई छात्रबृत्ति हस्तान्तरण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनु भयो । हात्ती, बाघ, गैडा लगायत विभिन्न बन्यजन्तुबाट अभिभावक गुमाएका विद्याथीहरुले छात्रबृत्ति पाएका हुन् । निकुञ्जले २ लाख ४९ हजार रुपैया छात्रबृत्ति वितरण गरेको जनाएको छ ।

महिला वातावरण उपसमितिले ४ हजार रुपैयाका दरले ४४ जना विद्यार्थीलाई १ लाख ७६ हजार रुपैया छात्रबृत्ति प्रदान गरेको महिला वातावरण उपसमितिकी अध्यक्ष सावित्रा थापाले बताउनु भएको छ । हामीले बर्षेनी दिदै आएको छात्रबृत्तिलाई निरन्तरता दिदै यसबर्ष पनि प्रदान गरेका छौं । छात्रबृत्तिले बन्यजन्तुबाट अभिभावक गुमाएका विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने हामीले विस्वास लिएका छौं अध्यक्ष थापाले भन्नुभयो ।