बाघ अध्ययन गर्न रेडियो कलर जडान
- आइतबार चैत २९ , २०७७
यादव आचार्य
गुलरिया ।
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बाघको आनीवानी लगायत आवागमन अध्ययन गर्न स्याटेलाईट रेडियो कलर जडान गरिएको छ । निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले ५ बर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको छ ।
विभागले मन्त्री स्तरिय निर्णयबाट बर्दिया–बाँके कम्प्लेक्समा ४ ओटा पाटेबाघ अध्ययन गर्ने अनुमति पाए अनुरुप पहिलो चरणमा बर्दियाको पाटेबाघमा स्याटेलाईट रेडियो कलर जडान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । पहिलो बाघको अध्ययन सकिएपछि पर्फमेन्सको आधारमा अन्य बाघको अध्ययन अघि बढाउँछौ । बाघले कसरी शिकार गर्छ । राजमार्गमा कसरी आवागमन गर्छ । सबै कुराको अध्ययन गर्ने हाम्रो तयारी छ ।
जडान गरिएको स्याटेलाईट र रेडियोबाट निकुञ्जमा आएको सूचना अनुसार फिल्ड अनुगमन गर्छौ । उनले भने अध्ययन पश्चात राजमार्गमा कस्तो सडक संरचना वनाउता उचित हुन्छ भन्ने थाहा हुन्छ । बाघ संरक्षणको योजना बनाउन पनि मद्दत पुग्छ । पछिल्लो समय बर्दियामा भएका मानविय आक्रमणका घटनाहरु समाधान गर्न सहज हुन्छ । बर्दियामा बाघको संख्या बढेसँगै मानविय आक्रमणका घटना बढेको छ ।
साढे २ बर्षको अवधिमा बर्दिया–वाँके कम्प्लेक्समा १८ जनाले बाघ आक्रमणमा परी ज्यान गुमाएका छन् । वनक्षेत्रमा ७, निकुञ्जमा ९ र बाँके क्षेत्रमा २ जनाको मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए । निकुञ्जले हाल सम्म ४ वटा नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । जसमध्ये एउटा बाघको मृत्यु भएको छ । बाँकेमा राखिएको बाघ भागेको छ । दुई वटा वाघहरु बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा छन् ।